दाङ, पुस १५ । प्रहरीलाई ५० हजार घुस दिन खोज्ने दुईजना गोरु तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं. ४ निवासी ३० बर्षीय अब्दुल्ला देवान र बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १२ निवासी ३७ बर्षीय नवराज थापालाई पक्राउ गरिएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।
प्रदेश प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लका अनुसार पक्राउ परेका दुबै जना गोरु तस्कर रहेका तथा उनीहरुले शुक्रवार दिउँसो पौने ४ बजेतिर ईलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेर प्रहरी नायव उपरिक्षक रमेशबहादुर सिंहलाई कार्य कक्षमै तस्कर गरेको गोरु लैजान दिन भन्दै घुस बाफत ५० हजार नगद दिएका थिए । प्रहरीलाई गोरु तस्कर गर्न दिन भन्दै ५० हजार घुस दिन खोज्ने दुबै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता मल्ले जानकारी दिए । यअसघि पनि पटक ÷ पटक पूर्व पश्चिम राजमार्गको दाङ सडक खण्ड हुँदै गाई गोरु तस्कर भएको जनगुनासो हुँदै आएको छ ।
गत मंसिर महिनामा मात्रै दाङको लमहीमा स्थानीयले गोरु तस्करहरुका ७ वटा मोटरसाईलकमा आगजनी गरिदिएका थिए । पुस महिनामा स्थानीयले गोरु सहितका ६ वटा ट्रक नियन्त्रणमा लिएका थिए । त्यो रिपोटिङ गर्न पुगेका संचारकर्मीलाई प्रहरीले दुव्र्यवहार गरेको थियो ।
पत्रकारले खिचेका तस्विर र भिडियो प्रहरीले खोसेर डिलिट गरेपछि त्यसको व्यापक विरोध भएको थियो । त्यसपछि दाङका सिडियोले गाई गोरु बोकेका ६ ट्रक बाँके तर्फ फिर्ता गर्न लगाएका थिए । त्यसअघि पनि पूर्व पश्चिम राजमार्ग हुँदै गाई गोरुको व्यापक तस्करी भएको हुँदा त्यो नियन्त्रण गर्न आवाज उठ्दै आएको छ । गाई गोरु तस्कर गरेर तराईका सीमा नाका हुँदै बंगलालादेश पुगाउने गरेको आरोप हिन्दुधर्मालम्बीहरुले लगाउँदै आएका छन् ।
पछिल्लो समय गोरु तस्कहरहरुले प्रहरीलाई नै ५० हजार घुस दिन खोज्नुले सेटिङमा गोरु तस्करी हुने गरेको तथ्य उजागर भएको छ।