
तुलसीपुर, भदौ १३ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि भएको अभद्र व्यवहारको बिरोधमा डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर संघर्षमा उत्रिएका छन् ।
भदौ ११ गते दिउँसो नेकपा निकट अनेराश्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समुहले मेसु सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको थियो ।
मेसुमाथि कालोमोसो दल्नेहहरु माथि कारबाहीको माग गर्दै तुलसीपुर क्षेत्रमा कार्यरत सयौं डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुले आइतबार बिहान तुसलीपुरमा पर्दशन गरेका हुन ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट सुरू भएको विरोध ¥यालीका सहभागिहरुले दोषीलाई तत्काल कारबाही गर, पीडितलाई न्याय दे, जस्ता प्लेकार्ड बोकेर तुलसीपुर बजारको परिक्रमा गरेका थिए । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
¥यालीमा मेसु सिंह, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद शर्मा, कोरोना विषेश अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण वलीसहित विभिन्न निजी क्लिनिकमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मी सहभागी थिए ।
बजारको परिक्रमापछि राप्ती प्रादेशिक अस्पतालको प्रांगणमा पुगेर उनीहरूले कोण सभा गरेका थिए। कोण सभालाई सम्बोधन गर्नेहरुले अस्पतालमै प्रवेश गरी दिनदहाडै मेसु सिंहमाथि मोसो दलेको घटनाले सबै स्वास्थ्यकर्मीको मलोबल गिरेको भन्दै तत्काल दोषीलाई पक्राउ गरि कारबाही गर्न माग गरेका थिए ।
शनिबार दिउँसोपनि दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उनीहरुले धर्ना दिएका थिए।
घटना भएकै दिन शुक्रबार नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले विज्ञप्ति निकालेर पार्टीको नीति विपरीत उच्छृंखल क्रियाकलाप गरेको भन्दै परियार र क्षेत्रीलाई पदीय जिम्मेवारीबाट मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए ।
आन्दोलनरत स्वास्थ्यकर्मीले दोषीलाई कारबाही नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरि चरणबद्ध आन्दोलनमा उत्रने बताएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले मेसु सिंहलाई कोलोमोसो दल्ने फरार अभियुक्तहरुको खोजी कार्य जारी रहेको जानकारी दिए ।