दिप्तीशिखा चौधरी
दंगीशरण, १४ पुस ।
दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरीले भ्रष्टाचार नगर्न आग्रह गरेका छन् । दंगीशरण गाउँपालिका वडा नम्बर ७ श्रीगाउँमा भएको उपभोक्ता समिति सञ्चालन अभिमुखीकरण तालिममा उनले यस्तो बताएका हुन् । उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सरकारको काम हो भन्ने सोच लिएका कारण विकासले गति लिन नसकेको बताएका थिए ।
स्थानीय तहमा हुने जुनसुकै विकास निर्माणका कामहरु एक ब्यक्तिले मात्र गर्न नसक्ने भएकाले उपभोक्ता समिति गठन प्रक्रियालाई अगाडि बढाइएको भन्दै भ्रष्टाचारका कुराहरु बाहिर नआउने किसिमले काम गर्न उपभोक्ता समितिलाई आग्रह गरे । ठेक्कामा हुने काम लापरवाही तरिकाको हुने गरेको गुनासो धेरै आउने भएका कारण अबका दिनमा यस्तो गर्न नहुने समेत सुझाव दिए ।
गाउँ पालिकासँग सम्झौता गरि सकेपछि आफ्नो काम र कर्तव्यलाई दायित्वको रुपमा लिएर विकासलाई साझेदारीका रुपमा लिएर ब्यवस्थापनलाई बलियो बनाउनुपर्ने बताए । उक्त अवसरमा प्रशासकीय अधिकृत मार्शल कुमार वलीले बजेट चुहावट नहुने गरेर काम गर्न सुझाव दिए । उनले काम अनुसारको भ्याट बिल बनाउन उपभोक्ता समितिलाई आग्रह गरे । अधिकृत वलीले भने ‘उपभोक्ता समितिले इमानदारितापूर्वक कामको योजना बनाउनुस् र बजेटलाई सही ठाउँमा सदुपयोग गर्नुस्, काममा अनियमितता नहोस् भन्ने विश्वास छ । माईन्युटमा निर्णय गरेर मात्र हुँदैन, अनुगमनका बेलामा कामको मूल्यांकन हुनेछ ।’
साथै उपभोक्ता समितिले १० प्रतिशत श्रमदान गर्नुपर्ने भन्दै आफ्नो घरआँगनको विकास दिगो रुपमा बनाउनुपर्ने बताए । तालिममा सहभागीहरुलाई उपभोक्ता समितिको गठन प्रक्रिया र आवश्यक कागजपत्रहरु, उपभोक्ता समितिका सदस्यको योग्यता, उपभोक्ता समिति गठनको नमूना, उपभोक्ता समितिको काम, कर्तब्य र अधिकार, उपभोक्ता समितिको भौतीक तथा वित्तीय प्रगती प्रतिवेदनलगायतका विषयमा जानकारी गराईएको थियो ।
तालिमको प्रशिक्षकमा गाउँपालिकाका प्रशासन शाखाका निमिक्त प्रमुख नरेन्द्रराज शर्मा, योजना शाखाका प्रमुख मस्तवीर चौधरी रहेका थिए । वडा नम्बर ७ का अध्यक्ष वीरबहादुर वलीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको हो । तालिममा ७ नम्बर वडाका महिला र पुरुष गरी ४० जना विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।