
तुलसीपुर, साउन २९। अस्पतालमा राखिराख्न उपयुक्त नभएको भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले एक जना विशेषज्ञ चिकित्सकलाई हटाएको छ । कोरोना भाइरसको संक्रमणको तेस्रो लहर सुरु हुनै लाग्दा यहांको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले भने इगोका आधारमा चिकित्सक हटाउने अभ्यास सुरु गरेको छ । अन्य स्वास्थ्य संस्थाहरुमा संभावित तेस्रो लहरलाई मध्य नजरगर्दै स्वास्थ्यका जनशक्ति थप्ने अभ्यास भइरहंदा प्रादेशिक अस्पतालमा निमिक्त मेडिकल सुपरीटेण्डेन्टको भूमिकामा काम गरिसकेका डा. शर्मालाई अस्पतालमा राखिरहन उपयुक्त नभएको भन्दै काज फिर्ता गरिएको छ ।
अस्पताल विकाश समितिबाट उनलाई अस्पतालमा राखिराख्न उपयुक्त नभएको सिफारीसका आधारमा लुम्विनी प्रदेश मुख्यमन्त्रीको कार्यालयले डा. शर्मालाइ काज फिर्ता गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीरिषदको कार्यालयको चलानी नम्बर ७९ मिति २०७८÷४÷१७ को पत्र अनुसार उनलाई संघीय सरकारको स्वास्थ्य तथा जनशंख्या मन्त्रालयमा फिर्ता गरिएको हो । कर्मचारी समायोजनमा संघ रोजेका डा. शर्मा विगत लामो समयदेखि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा काजमा थिए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पठाएको पत्रमा डा. शर्मालाई खटाइएको अस्पताल तथा प्रदेशको स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले सो अस्पतालमा राखिराख्न उपयुक्त नभएको भन्ने सिफारिस पठाएपछि काज फिर्ता पठाइएको उल्लेख गरिएको छ ।
डा सर्वेश शर्मालाई अस्पतालबाट काज फिर्ता गर्न अस्पताल विकाश समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले मुख्य मन्त्री तथा मुख्य सचिवसंग मौखिक तथा लिखित रुपमै पत्र पठाएर आग्रह गरेका थिए ।काज फिर्ता पठाइएको बोधार्थ सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, स्वास्थ्य तथा जनशंख्या मन्त्रालय, बुटवल मुकाम, निजामति किताव खाना हरिहर भवन तथा स्वयम डा. शर्मालाइ समेत दिइएको छ ।
अस्पतालका चिकित्सक कर्मचारीहरुले यसलाई असामान्य र अस्वाभाविक रुपमा लिएका छन् । साथै उनीहरुले यसको पर्दा पछाडि राजनीतिक शक्ति हाबि भएको एक चिकित्सकले बताए ।
‘अस्पताल विकाश समितिका अध्यक्षले समन्वयकारी भूमिका निर्वाह गर्नुको साटो हस्त क्षेपकारी भूमिका निर्वाह गर्नुभएको छ, डा. सर्वेशलाइ अस्पतालमा राखिराख्न उपयुक्त नभएको भनि लिखित पत्राचार गर्नु उहांको अक्षम्य भुल हो’, ती चिकित्सकले भने । यस्ता कार्यले अस्पतालका कर्मचारी तथा चिकित्सकहरुमा समेत असन्तुष्टी उत्पन्न भएको छ । कोरोना महाव्याधिको समयमा अस्पतालमा चिकित्सक थप गर्नतिर लाग्नुको साटो फाल्न तिर लाग्नु अध्यक्ष पदको नैतिकता गुम्न सरह भएको उनको गुनासो थियो ।
डा. सर्वेशकै विशेष पहलमा अस्पतालमा संघीय माताहतमै रहेका धेरै चिकित्सक आएका थिए । अस्पतालमा कार्यरत आधा भन्दा बढी चिकित्सकहरु दरवन्दीका छन् । अस्पतालका मेसु डा. विनोद सिंहको दरबन्दी समेत संघमा रहेको छ ।
अस्पतालमा हाल कार्यरत विशेषज्ञ चिकित्सकहरु मध्ये कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा. प्रताप पोख्रेल र इन्टरनल मेडिसिनका डा. पदमप्रसाद अधिकारी वाहेक सवै विशेषज्ञहरु संघबाट काजमै आएका छन् । डा. मिनचन्द्र अधिकारी तथा डा. जितनारायण यादव भने संघकै फाजिलमा रहेका चिकित्सकहरु हुन् ।
प्रदेश अन्तर्गतको दरवन्दीमा केही मेडिकल अफिसर करारका छन् भने केही छात्र बृत्तिका चिकित्सकहरु रहेका छन् । काजमा रहेका चिकित्सकहरुलाई राजनीतिक प्रतिसोधका कारण एक पछि अर्कोलाई हटाउंदै गएमा अस्पताल विशेषज्ञ चिकित्सक विहीन बन्ने खतरा ती चिकित्कसले औंल्याए ।
इगोका आधारमा काज फिर्ता
काज फिर्ता भएका चिकित्सक डा. शर्माले आफुलाई केही व्यक्तिहरुको व्यक्तिगत इगोका कारण काज फिर्ता गरिएको भन्दै पत्रमा उल्लेखित भाषा शैलिप्रति आपत्ति जनाएका छन् । अस्पतालमा विशेषज्ञ चिकित्सकीय सेवा उपलव्ध गराउन संघीय मन्त्रालयसम्म पनि आफुले विशेष भूमिका निर्वाह गर्दै आएको अवस्थामा आफुलाई एक शव्दपनि नसोधेर व्यक्तिगत ईगोका भरमा सरुवा गरिनुलाई दुर्भाग्यपुर्ण भएको उनले बताए । आफु नेपाल सरकारको चिकित्सक भएकाले सरकारले जँहा खटाएपनि गएर सेवा दिन आँफु तयार रहेपनि एकाएक काज फिर्ता इगो मात्रै मान्न सकिने उनले बताए ।
ड्युटिफुल नभएपछि हटाइयोः अस्पताल विकाश समिति
कोरोना भाइरसको संक्रमणको समयमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपतिबाट विभुषित समेत भएका शर्मालाई एक बर्ष नपुग्दै अस्पताल विकाश समितिको सिफारिसमा हटाइएको छ । उनलाइ हटाउन अस्पतालक मेसु भन्दा पनि बढी भूमिका अस्पताल वाहिरका राजनीतिक व्यक्तिहरुको आग्रहमा विकाश समितिका अध्यक्षले भूमिका खेलेको स्रोतले बताएको छ ।
अस्पताल विकाश समितिले भने डा. शर्मा पछिल्लो समयमा आफ्नो चिकित्सकीय जिम्मेवारीबाट विचलित हुन थालेको तथा काममा ड्युटिफुल नभएको भन्दै हटाउन सिफारिस गरिएको जनाएको छ ।
‘उहांले अस्पतालमा दैनिक रुपमा तोकिएको समयमा विरामीको चेकजांच गर्नुको साटो पारामेडिकल स्टाफलाई हतोत्साहित गर्ने र आफुलाई तोकिएको समयमा विरामीको चेकजाँचपनि नगर्ने गरेकाले काज फिर्ताको पहल भएको हो’, अस्पताल विकाश समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले भने ।
अस्पतालका विशेषज्ञ चिकित्सकहरुले नियमित रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने आम विरामीहरुको माग रहेको र चिकित्सकहरु आफुनो जिम्मेवारीबाट विमुख भएकाले तुलसीपुरमै राखिराख्न आवस्यक नभएको भनेर काज फिर्ताका लागि सिफारिश भएको अध्यक्ष न्यौपानेले स्वीकारे ।
स्रोतका अनुसार केपी ओली शर्मा निकट नेकपा (एमाले)का जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले डा. शर्मालाई यहाँबाट काज फिर्ता गर्न लागि परेका थिए ।
तर, बिकाश समितिका अध्यक्ष न्यौंपानले गत बैसाखमा फैलिएको कोरोनाको महामारी समयमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कोरोना संक्रमितलाई समेत भर्ना गरेर उपचार गरौं भन्दा डा. शर्माले वातावरण भड्काउन खोजेको आरोप लगाए ।
‘यो विषयमा पहिले मुख्य सचिव र मुख्य मन्त्रीलाई फोन गरेको हुँ र उहांहरुले लिखित नै पठाउनुस भनेपछि लिखित पठाएको हो,’ – अध्यक्ष न्यौपानेले भने ।
अध्यक्ष न्यौपानेले अस्पतालमा अझैपनि केही चिकित्सकहरु आफ्नो पेषागत इमान्दारिताप्रति वफादार नभएको आरोप लगाए । तर, अस्पतालका निमिक्त मेसु डा. विनोद सिंह भने अस्पतालमा भइरहेका पछिल्ला गतिविधि बारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।