दाङ, १३ पुस ।
दाङको घोराहीमा प्रथम सहिद लखन थापाको स्मृतिमा खुला क्लवस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ दाङले फुटबल प्रतियोगिता गर्ने भएको हो । नेपाल मगर संघको शुक्रबार घोराहीमा बसेको दोस्रो बैठकले फागुन २ गतेदेखि १५ गतेसम्म फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । त्यसका लागि संघका जिल्ला सचिव मुक्त बुढा मगरको संयोजकत्वमा प्रतियोगिता ब्यबस्थापन समिति गठन गरिएको छ ।
जसको सदस्यमा नरेन्द्र पुन, प्रेमबहादुर राम्जा, लक्ष्मण बुढा मगर, ध्रुब बाठा मगर, भिमकुमारी पुन, चमेली घर्ती मगर, शारदा पुन मगरलाई सदस्यमा चयन गरिएको छ । यस्तै नेपाल मगर युवा संघ र नेपाल विद्यार्थी संघलाई पनि सदस्य तोकिएको छ । २०६३ सालबाट सुरु भएको प्रथम लखन थापा स्मृति फुटबल प्रतियोगिता २०६५ देखि स्थगित भएको थियो । स्थगित हुँदै आएको फुटबल प्रतियोगितालाई यस बर्षदेखि सञ्चालन गर्ने गरी नेपाल मगर संघले तयारी गरेको छ ।
प्रतियोगिता सफल पार्नका लागि प्रतियोगिता उपसमितिले काम गर्ने संघले जनाएको छ । संघका जिल्ला अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षता तथा संघका केन्द्रीय सदस्य दरजित रोका मगरको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले बोनम्यारो रोगबाट पीडित रोल्पा निवासी प्रेमबहादुर पुनको उपचारका लागि आर्थिक संकलन समिति गठन गरेको छ ।
जिल्ला अध्यक्ष खलुप्रसाद पुन मगरको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको हो । जसको सदस्यहरुमा नेत्रा घर्ती मगर, बेदलाल बुढा मगर, डिल्ली घर्ती मगरलाई सदस्यमा चयन गरिएको छ । यस्तै नेपाल मगर युवा संघ, महिला, विद्यार्थी, साँस्कृतिक समितिलाई पनि सदस्यका रुपमा मनोनयन गरिएको छ ।