काठमाडौ,साउन २२ । स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधारका लागि पटकपटक अनसन बस्दै आएका प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको पदमुक्त गर्न माग गरेका छन्।
डा. केसीले शुक्रबार एक विज्ञप्ति स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त नगरे भदौ ३ गतेदेखि अनसन बस्ने चेतावनी दिएका छन्।
‘स्वार्थको द्वन्द्व हुने गरी नियुक्त गरिएका स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस्‚’ विज्ञप्तिमा उल्लेख छ‚ ‘अब उपरान्त व्यापारी, व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई करोडौं घुस खुवाएर चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरु डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआउने सुनिश्चित गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी प्रष्ट कानुनी व्यवस्था गरियोस्।‘
उनले नेपालको मेडिकल शिक्षा गैरनाफामुलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन गर्न समेत माग राखेका छन।