२०८१ माघ १३ गते आइतवार

बालविवाह न्यूनीकरण गर्न सबै लाग्नुपर्छः अध्यक्ष चौधरी


दिप्तीशिखा चौधरी
दंगीशरण, पुस १२ ।
दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बालबालिकाको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम गर्ने बताएका छन् । पछिल्लो समयमा बालविवाहबाट बालिकाहरु बढी प्रभावित भएको भन्दै गाउँपालिकाले विद्यालयमा केन्द्रित गरेर बालविवाह न्यूनीकरणसम्बन्धी गोष्ठीको आयोजना गरेको भन्दै बालविवाह न्यूनीकरण गर्न सबै आ–आफनो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

दंगीशरण गाउँपालिका वडा नम्बर ६ स्थित सिद्धपृथ्वी जनता मावि श्रीगाउँमा भएको बालविवाह अभिमुखीकरण गोष्ठी समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिले गाउँपालिकाले गरेको सर्वेक्षणमा एक सय जनामा ६४ प्रतिशत दबावमा परेर बालविवाह गरेको, १४ प्रतिशत प्रेमविवाह र बाँकी गरिबी, अशिक्षाका कारण बालविवाह गरेको जानकारी दिए ।

अबका दिनमा आफै सजक हुन बालबालिकालाई आग्रह गरे । बालविवाह न्यूनीकरणसम्बन्धी अभियान बालबालिकाको हितको लागि भएको भन्दै कार्यक्रमपछि गाउँपालिकाले गरेको कामको परीणाम उपलब्धिमूलक हुने विश्वास ब्यक्त गरे । उक्त अवसरमा गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले गाउँपालिकामा बालविवाहका घटना धेरै मात्रामा दर्ता हुने गरेको भन्दै गाउँपालिकाले बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन गरेको बताइन् । किशोरावस्थामा शारीरिक, मानसिक रुपमा परिपक्वता नभएको भन्दै बेलैमा सजक हुन बालबालिकालाई आग्रह गरिन् । अब विद्यालयबाटै बाल क्लव गठन गरेर प्रतिनिधित्वमूलक भूमिका खेलेर बालविवाह न्यूनीकरण गर्नतर्फ लाग्नुपर्ने बताईन् ।

गोष्ठीमा महिला तथा बालबालिका शाखाकी प्रमुख चन्द्रा वलीले विवाहको परिभाषा, बालविवाहको भनेको के हो ? दण्डनीय विवाह अथवा कस्तो विवाह गर्नुहँुदैन, बालविवाहले शिक्षा, स्वास्थ्य, मानसिक, सामाजिक रुपमा पर्ने असर, बालविवाह भएमा बालबालिकाको बालअधिकारमा हुने हनन्, बालबालिकामा लागू हुने कानुनी ब्यवस्थाहरु, बालविवाह न्यूनीकरणमा स्थानीय तहको भूमिका, बालविवाह न्यूनीकरणमा परिवारको भूमिका, बालबालिकाहरुका मनोविकासका लागि विद्यालय र शिक्षकको भूमिका, बाल क्लवले खेल्नुपर्ने भूमिकालगायतका विषयमा जानकारी गराएकी थिईन् ।

गोष्ठीमा विद्यार्थीहरुले कक्षा १० का ३ जना र कक्षा ९ बाट ४ जना विद्यार्थीले बालविवाह गरेको जानकारी गराएका थिए । उक्त अवसरमा बालविवाह न्यूनीकरण गर्न के गर्नुपर्ला ? भन्ने विषयमा गृहकार्य गरेका थिए । गोष्ठीमा ९ र १० का विद्यार्थीहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता एवं जनता सिद्धपृथ्वी माविका शिक्षक बाबुराम अधिकारीको प्रमुख आतिथ्यमा तथा उपाध्यक्ष पिमा कुमारी खड्काको विशिष्ट आतिथ्यमा गोष्ठी भएको हो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष टंक बहादुर वली, वडा नम्बर ७ का अध्यक्ष वीरबहादुर वली, विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण गाउँपालिकाका कार्यक्रम संयोजक किरण पोख्रेलले गरेका थिए । बालविवाह न्यूनीकरण गर्ने अभियानअन्तर्गत गाउँपालिकाको महिला तथा बालबालिका शाखाले ९ र १० का विद्यार्थीहरुलाई बालविवाह अभिमुखीकरण गोष्ठी गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५ पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *