तुलसीपुर, असार ३१ । दाङ घोराही उपमहानगरपालिका १४ मिलन चोक बस्ने गोमा जिसीलाई प्रहरीले पक्राउ गरेको छ । बिनाभिसा गैरकानुनी रूपमा अमेरिका जान खोज्ने सात नेपाली डुंगा दुर्घटनामा बेपत्ता भएपछि प्रहरीले उनीहरूलाई पठाउने एजेन्टको खोजी गर्ने क्रममा जिसीलाई पक्राउ गर्नु परेको जनाएको छ ।
जिसीलाई बिहान घोराहीस्थित घरबाटै पक्राउ गरेको हो । केन्द्रबाटै वारेन्ट जारी भइ आएको हुँदा जिसीलाई पक्राउ गरि काठमाडौं पठाइएको उच्च प्रहरी स्रोतले बताएको छ । गोमाका श्रीमान टोपबहादुर जिसी संगठित मानव तस्कर गरेको अभियोगमा अदालतमा मुद्दा परेपछि १५ लाख धरौटीमा छुटेका थिए।
बिनाभिसा गैरकानुनी रूपमा युवालाई अमेरिका पठाएको अभियोग खेपेका टोपबहादुर अहिले युक्रेनमा रहेको स्रोतले बताएको छ। डुंगा दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका १२ का २८ वर्षीय हेमराज अधिकारी, बबई गाउँपालिका ५ का २७ वर्षीय रेशम बैंगा मगर र घोराही उपमहानगरपालिका १२ का २१ वर्षीय एन्जल बुढा मगर बेपत्ता रहेको भन्दै आफन्तले जिल्लामा जाहेरी दिएका छन् ।
उक्त दुर्घटनामा परी पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा अझै बेपत्ता छन् । दाङ, पर्वत, म्याग्दी र स्याङ्जाका युवालाई संगठित मानव तस्करहरूले चोर बाटोमार्फत अमेरिका प्रवेश गराउन खोज्दा डुंगा दुर्घटनामा परेको थियो।
असार ७ गते बिहान नेपालका ८ जना र १० बंगलादेशी नागरिक सवार डुँगा कोलम्बियाको समुद्रमा दुर्घटनामा परेको थियो। त्यसमध्ये एक नेपाली र पाँच बंगाली नागरिक पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए। पौडी खेलिरहेका उनीहरूको सशुकल उद्धार भएको थियो।
