२०७८ साउन २० गते बुधवार

आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने देउवा सरकारको निर्णय

काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले आगामी चैतसम्म सबै नागरिकलाई कोरोना खोप लगाउने निर्णय गरेको छ।

पद तथा गोपनीयताको सपथग्रहण पछि मंगलबार बेलुका सिंहदरबारमा देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठक बसेको थियो।

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असोज मसान्तभित्र एकतिहाइ र चैतभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय पहिलो बैठकले गरेको जानकारी दिए ।

सरकारका प्रबक्ता समेत रहेका कार्कीले कोरोनाविरूद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक हप्ता भित्र उपलब्ध गराउने निर्णयपनि गरेको जानकारी दिए ।

त्यस्तै कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ। कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक साताभित्र विशेष प्याकेज ल्याउने निर्णय पनि गरेको कार्कीले बताए ।

पहिलो बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म गरेको खर्च विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

देउवा नेतृन्वको मन्त्रीमण्डलमा कांग्रेसबाट कानुनमन्त्री कार्कीसहित गृहमन्त्री बालकृष्ण खाँड रहेका छन् । त्यस्तै माओवादीबाट जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाललाई ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ।

ती चारै जना मन्त्रीलाई राष्ट्रपति भण्डारीले मंगलबारै सपथ गराएकी थिइन ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश गरेको थियो। त्यसपछि राष्ट्रपति कार्यालयले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गरेको हो।

 

 

प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *