तुलसीपुर,असार २९ । सन २०२५ सम्म देशलाई औलो अर्थात मलेरिया मुक्त बनाउने लक्ष्य अनुरुप दाङ लगाएत देशभर सचेतनामुलक कार्यक्रम भैरहेका छन ।
सोही अनुरुप मंगलवार तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखाले किटजन्य औलो तथा कालाजार रोगको नियन्त्रणका लागि स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायहरुसगं अभिमुखिकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय दाङका फेकल पर्सन कमल चन्दले औलो अर्थात् मलेरिया लामखुट्टको टोकाइका कारण लाग्ने रोग भएकोले मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजिविका कारण लाग्ने बताए ।
उनका अनुसार लामखुट्टेले टोकेको परजिवि शरिरमा प्रवेश गरेको १० देखि १५ दिनमा यसको लक्षण देखिन सुरु गर्दछ ।
प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन्।
त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ । औलोको पहिचान गर्न रगतको नमूनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परिक्षण गर्ने गरिने चन्दले बताए ।
औलो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्दछन ।
निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरिरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ। यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने गर्दछ ।
विशेषगरी कामको सिलसिलामा बाहिर गएका व्यक्तिहरुमा औलोको जोखिम बढी हुने गरेको स्वास्थ्यकर्मिहरुले बताएका छन ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका फोकल सर्पन बिमल केसीले नेपालमा औलोको उच्च जोखिम भएका १२ जिल्ला रहेको बताउदै सन २०२५ सम्ममा देशलाई औलो मुक्त बनाउन यी जोखिमयुक्त जिल्लामा नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको वजानकारी दिए ।
शंकास्पद बिरामी तथा बिरामीहरुको रक्त नमूना संकलन गरी परिक्षण गरेपछि मात्र औलो भए÷नभएको पत्ता लगाउन सकिने उनको भनाई छ । नेपालमा औलो रोगको लक्षणहरुका आधारमा परीक्षण, सूक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी औलो रोग भए नभएको निदान गरिन्छ।
औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ। परजिवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुने गर्छ । स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूर्णरुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ ।
केसीले यसवाट बच्न राती सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय भएको बताए । शरिरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ। जस्तै स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ।
जोखिम युक्त ठाउँहरुको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ।
घर–घर तथा समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ ।
केसीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३,बबई गाउपालिकाको ७ नम्वर वडा र राप्ती गाउपालिकाको ९ नम्वर वडा औलोको उच्च जोखिममा छन ।
नेपाल सरकारले यसको परिक्षण र औषधि निशुल्क व्यवस्था गरेको छ ।
यसैगरी डेगु रोग पनि लामखुटे टोकाई वाट सर्ने भएकोले विषेश सतर्कता अपनाउन आग्रह गरिएको छ । डेंगु विषेश गरि शहरी क्षेत्रमा वढी देखिने गर्दछ ।
उक्त कार्यक्रम सामाजिक विकास शाखाका संयोजक कुमार लामिछानेको अध्यक्षतामा भएको थियो ।