तुलसीपुर, असार २ । राप्ती नदीको बीचमा फसेका चार जना मानिसको उद्धार गर्न सशस्त्र प्रहरी खटिएको छ ।
भैंसी पाल्नका लागि अस्थायी गोठ बनाएर लमही नगरपालिका वडा नं. ७ हस्नापुरमा बसेका स्थानीय ४८ बर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका वडा नं. २ की ४५ बर्षीया साबित्रा यादब, सोही ठाउँका २६ बर्षीय राधे यादब र राजपुर ३ का २६ बर्षकै गणेश यादब राप्ती नदीमा आएको बाढीका कारण बीचमा फसेका छन् ।
उनीहहरुको उद्धार गर्न २५ जना सशस्त्र प्रहरी खटिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले जानकारी दिए ।
अबिरल बर्षाको कारण लमही ७ हस्नापुर र राजपुर गाउँपालिकाको वेला घाटबीच टापुमा फसेका उनीहरुको उद्धार गर्नको लागि सशस्त्र प्रहरी बल भालुवाङबाट उपरिक्षक टोपबहादुर खनालको कमाण्डमा नौं जना र लमहीस्थित अर्जुन खोलामा रहेको सशस्त्र प्रहरी क्याम्पबाट थप १६ जना सशस्त्र प्रहरी रबरबोट तथा उद्धार सामाग्री साथ बुधबार बिहान ६ बजे नै घटनास्थल गइ सकेको अर्यालले बताए । यसअघिदेखि नै उक्त स्थानमा भैंसी पाल्नका लागि अस्थायी टहरा बनाएर बस्दै आएका थिए ।