तुलसीपुर, जेठ १० । दाङको घोराहीमा एक युवकले कुँवामा हाम फालेर आत्महत्या गरेका छन् ।कपिलबस्तुको चन्द्रौटा निवासी अन्दाजी २७ बर्षीय गोपाल गुरुङले घोराही उपमहानगरपालिका वडा नं. ८ स्थित कुलबहादुर चौधरीको घरको कुँवामा हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान करिब साढे १ बजेतिर कुवामा हाम फालेका गुरुङलाई स्थानीय राति ४ बजेतिर उद्धार गरेर अस्पताल पु¥याएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार लेबर मिस्त्रीको काम गर्ने गुरुङ बिगत १० बर्षदेखि दाङमै बस्दै आएका थिए ।
गुरुङले कुँवामा हाम फाल्नु भन्दा अघि आफुले लगाएको चप्पर छराएर बाहिरै राखेको अवस्तामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा शाखामा कार्यरत मोहन बुढाथोकीले जानकारी दिए ।
संगै सुतेका साथीले गुरुङलाई नदेखेपछि खोज तलास सुरु गरेको र गुरुङले लगाउने चप्पल कुँवा बाहिर देखिएपछि गएर हेर्दा उनी कुँवा भित्र फेला परेको उनका साथीले बताएका छन् ।
प्रहरीका अनुसार गुरुङको शरिरमा कुनैपनि चोट पटक नदेखिएको हुँदा उनको मृत्युको डुबेर भएको हुन सक्ने अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शब पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।