दाङ, जेठ ९ । रोल्पाको जंगलमा ठूलो परिमानमा बिभिन्न हतियारका गोलीहरु फेला परेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर २ रामपुर गाउँस्थित सामुदायिक वनमा म्याग्जिन र गोली गरि झन्डै एक हजार थान बिभिन्न हतियारमा प्रयोगहुने गोलीहरु बरामद भएको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीका अनुसार प्लाष्टिकले बेरेर बाँसको पातले लुकाई छिपाई राखेको अवस्थामा ती गोलीहरु बरामद भएका थिए ।
उनले एसएमजीमा प्रयोग हुने म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान गरि २५ थान म्याग्जिन फेला परेको बताए । त्यस्तै एके ४७ मा प्रयोग हुने गोली ७ सय ५२ थान, ७.६२ मिमि हतियारको गोली २ सय ८ थान र ९ एमएमको गोली १० राउन्ड गरि जममा ९ सय ७० राउन्ड गोली फेला परेको छ ।
स्थानीयको गोप्य सूचनाका आधारमा शनिबार बेलुका ती गोलीहरु बरामद भएको डिएसपी सुबेदीले जानकारी दिए । बरामद गोली सबै प्रयोग गर्न योग्य रहेको हुँदा केही समय अगाडि मात्रै त्यहाँ लगेर राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
त्रिबेणी २ क्षेत्रमा अघिल्लो महिनमा मात्रै जंगल र घरहरुमा भिषण आगलागी भएको थियो । त्यो आगोबाट जोगाउन गोली सुरक्षित स्थान ठानेर त्यहाँ लुकाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । त्यसक्षेत्रमा सुरक्षाकर्मीले थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।
गत असोजमा पनि नेपाली सेनाले रोल्पाको जंगलमा लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा हात हतियार फेला पारेको थियो । गत वर्ष मात्रै त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा बेवारीसे बम विष्फोट हुदा बाख्रा ग्वाला गएका ४ बालकको मृत्यु भएको थियो ।