२०७८ जेष्ठ ४ गते मङ्गलवार

तुलसीपुर प्रादेशिक अस्पतालमा कोरोना परीक्षण सुरु

तुलसीपुर, बैशाख १६ । तुलसीपुरस्थित राप्ती प्रादेशकि अस्पतालमा बिहीवारदेखि कोरोना भाइरसको परीक्षण एन्टिजेन्ट बिधिबाट गर्न थालिएको छ । तुलसीपुरमै एन्टिजेन्ट बिधिबाट कोरोना परीक्षण सुरु भएपछि कोरोना परीक्षणका लागि घोराही जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एन्टिजेन्ट बिधिबाट गरिने कोरोना परीक्षण निशुल्क हुने छ ।

हरेक दिन बिहान साढे ७ बजेदेखि ९ बजेसम्म उक्त बिधिबाट आशंका गरिएका बिरामीको मात्रै परीक्षण गरिने भएको छ । स्वास्थ्यकर्मी र चिकित्सकले रिफारिस गरेका संभावित लक्षण देखिएका ब्यक्तिहरुको मात्रै परीक्षण सुरु गरिएको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले फरककोणलाई बताए ।

शंकास्पद लक्षण भएका र संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुलाई परीक्षण गर्ने बिधि तयार गरिएको फोकल पर्सन केसीले जानकारी दिए । हाल साढे ४ सय जति किट उपलब्ध भएको हुँदा त्यतिले पुग्दा सम्म परीक्षण गरिने र थप किट मागिने केसीले बताए ।

यसअघि कोरोना परीक्षण घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मात्रै हुँदै आएको छ । सशुल्क हुने उक्त परीक्षण गराउन १ हजार १ सय रुपैंया लाग्ने गर्दथ्यो । बिहीवारदेखि तुलसीपुरमै एन्टिजेन्ट बिधिबाट निशुल्क कोरोना परीक्षण थालिएपछि सर्बसाधारणलाई सहज हुने आशा गरिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *