२०७८ जेष्ठ ४ गते मङ्गलवार

प्रेसरले हानेर थलिएका चन्द्रलाल फिजियो थेरापीले तंग्रिदै


तुलसीपुर, बैसाख ९ ।सल्यान कपुरकोटका चन्द्रलाल कामीले अहिले श्वास्थ्य लाभ लिइरहेका छन् ।प्रेसरले हानेपछि देब्रे भाग नचल्ने समस्याले उनी पीडित भएको करीव डेढ महिना भएको थियो ।कामी फिजियो थेरापीको उपचार पछि बल्ल तल्ल अहिले सौचालय सम्म एक्लै जान सक्ने भएका छन् ।

कामीले भने – ‘अझै केहि दिन थेरापी गरेपछि सामान्य नागरिकले जस्तै काम गर्ने आशा पलाएको छ ।’ उनले हाल तुलसीपुर उपमहानगरपालिका पश्चिम बुद्ध फिजियो थेरापी क्लिनिकमा थेरापी गराइरहेका छन् ।मलेशियाको एउटा व्यापारीक कम्पनीमा काम गर्दागर्दै उच्च रक्तचापले हानेपछि पक्षघात भएका चन्द्रलाल फिजियो थेरापीको उपचार पछि विस्तारै तंग्रिदै गएका हुन ।

अघिल्लो सातासम्म अक्युपञ्चर गराएर केही राहत पाएका कामीले यसै सातादेखि बुद्ध फिजियो थेरापी क्लिनिकमा उपचार गराउन थालेपछि झनै सहज महसुश भएको प्रतिक्रिया दिए ।गाउँमा खनजोत गरेर खाने जग्गा नभएको र गाउँमा रोजगारी पनि नपाइने भएपछि कपुरकोटका चन्द्रलाल रोजगारीका लागि मलेसिया पुगेका थिए ।

काम गर्दागर्दै प्रेसर हाइ भएपछि उनले त्यहां चिकित्सकलाई पनि चेकजाँच नगराएका भने होइनन् । चिकित्सकले नियमित रुपमा प्रेसरको औषधी खान भनेका पनि थिए । तर वीचमै औषधी खान छाडेपछि प्रेसरले दाँया तर्फ हानेको चन्द्रलाल बताउँ छन् । ‘साथीहरुले यो औषधी त जीवन भर खानुपर्दछ, बानी नपार भनेपछि औषधी खान छाडें,’ कामीले भने ‘ तर,छाडेको केही दिनमै काम गर्दागर्दै उच्च रक्तचापले हान्यो र मेरो शरिर नचल्ने भयो ।’

आफैले भोगेपछि बल्ल मानिसलाई पीडा थाहाँ हुन्छ । त्यसयता भने उनले प्रेसरको औषधी नछुटाइ सेवन गर्न सबैलाई गाउँघरका बिरामीलाई सल्लाह दिन थालेका छन् । ‘करीव एक महिना त ओछ्यानमै दिसा पिसाव गराउनुपर्ने अवस्था थियो, तर अहिले सौचालयसम्म पुग्ने हुनुभएको छु,’ उनकी श्रीमती बिबा कामीले भनिन् ‘यो फिजियो थेरापीले गर्दा भएको सुधार हो ।’

आफ्ना श्रीमान चन्द्रलाल फिजियो थेरापीले तंग्रिदै गएपछि अव केहीदिन उपचार गराएर श्रीमानलाई शद्धे बनाएर घर लैजाने सपना बिबाको छ ।

हिडडुल गर्न नसक्ने आफ्ना पतिको पहिलेको अवस्था भन्दा अहिलेको अवस्था देखेर बिबा निकै आशाबादी छिन् ।

घरको मुली श्रीमान थलिएपछि बिबालाई तीन छोराछोरीको लालन पालन गर्न निकै कठिनाई हुँदै आएको छ । त्यसैले पनि गाउँ घरबाट सहयोग जुटाएर उनी आफ्ना श्रीमानलाई फिजियो थेरापी गराउन दाङ झरेकी हुन ।

‘उहां समयमै फिजियो थेरापीमा आउनु भएकोले धेरै सुधार देखिएको छ,’ शोभाराम बस्नेतले भने ‘ मलाइ लाग्छ, उहां अवको दुई सातामा नर्लम अवस्थमा पुग्ने हुने छ ।’

ब्स्नेत तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित बुद्ध फिजियो थेरापी क्लिनिकका सञ्चालक हुन । हाडजोर्नी र पक्षघात सम्बन्धी समस्या समयमै फिजियो थेरापी गरे निको हुने उनको विश्वास पनि छ ।उनी सञ्चालक मात्र नभएर ट्रेनी फिजियोथेरापिष्ट पनि हुन् । सो क्लिनिकमा हाल दैनिक डेढ दर्जनको हाराहारीमा फिजियोथेरापी गर्न आउने गरेको उनले बताए । चन्द्रलाल एउटा प्रतिनिधि पात्र मात्रै हुन् ।

गाडी दुर्घटनामा परेर खुट्टाको नसामा समस्या हुंदा औंला समेत नचल्ने र टेक्न समेत नमिल्ने समस्या भएका शान्तिनगर गाउपालिका – ३ भलानेटीका चित्रबहादुर थापा पनि फिजियो थेरापीले आफ्नो खुट्टाको समस्यामा धेरै सुधार भएको बताउँछन् ।

सवारी दुर्घटनामा खुट्टाको शल्यक्रिया गरेपनि नसामा समस्या देखिएपछि उनी विगत एक सातादेखि बुद्ध फिजियो थेरापीमा उपचार गराइरहेका छन् । थापाले पनि थेरापीले आफ्नो समस्यामा धेरै सुधार आएको बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ खाद्रेकी समिता बुढा पनि नसा च्यापिएपछि फिजियो थेरापी गराउन त्यही आइन ।

। ‘अप्रेशन नगरी निको हुन्छ रे भनेर यहां आएकी हुंँ,’ बुढाले भनिन् ‘ अहिले यहाँ आएर उपचार गराएपछि मलाई पहिलेको भन्दा धेरै सुबिस्ता भएको छ ।’

बुद्ध फिजियो थेरापी क्लिनिकमा घाँटीको समस्या, स्वर नआउने समस्या, प्यारालायसिसको समस्या, हाडजोर्निको समस्या, नसा सम्वन्धि समस्या लगायतका दिर्घरोगहरुको उपचार हुंदै आएको सो फिजियो थेरापी सेन्टरका सञ्चालिका तथा फिजियो थेरापिष्ट नेहा रेग्मीले बताइन ।

भारतको व्याङलोरबाट फिजियो थेरापी कोर्ष पुरागरी उनी आफ्नो गृह जिल्ला दाङमै फिजिया ेथेरापी केन्द्र चलाउन आएकी हुन । उनले फिजियो थेरापी संगै स्माइनल कोर्ट इन्जुरी रिह्यावमा भारतबाटै एमएससी समेत उत्तिर्ण गरेकी छिन् ।

‘विना औषधि र विना शल्यक्रिया गरिने उपचार फिजियो थेरापी हो,’ उनले भनिन् ‘ मलाइ विश्वास छ, हाडजोर्नीका समस्याहरु मध्ये करीव ९० प्रतिसत समस्या थेरापीबाट निको हुन्छन् ।’ तर, त्यसो गर्दा विधि पु¥याएर नियमित रुपमा गर्न आवश्यक रहेको उनले बताइन ।

नेहाका अनुसार अधिकांश अर्थोपेडिक्स तथा अर्थोसर्जनहरुले फिजियोथेरापीलाई सप्लिमेन्ट उपचारका रुपमा सहज रुपमा स्वीकार्न नसकेकोमा नेहाको गुनासो थियो ।

फिजियो थेरापी क्लिनिकमा लम्वर ट्रयाक्सन, मांसपेसीको तन्काई, करेन्टको प्रयोग, जडिबुटीको तेलले अल्ट्रा साउन्ड लगायत विभिन्न म्यानुअल विधिबाट फिजियो थेरापी गर्दै आएको उनले बताइन ।

हाडजोर्नीका शल्यचिकित्सकहरुले फिजियोथेरापीलाई भरसक सिफारीश नगर्ने गरेपनि विरामी स्वयमकै विश्वासका कारण पछिल्लो समयमा फिजियोथेरापी प्रतिको आकर्शष दिनदिनै बढि रहेको नेहाले बताइन ।

दाङमा झन्डै आधा दर्जन जति फिजियो थेरापी क्लिनिक सञ्चालनमा रहेका छन् । तर सरकारी अस्पतालमा भने फिजियोथेरापी सेन्टर अझै पनि सञ्चालन हुन नसक्दा सर्वसाधारणमा मर्कामा छन् । उनीहरुले निजी क्लिनिकहरुमा महंगोमा उपचार गराउन बाध्य छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *