तुलसीपुर,माघ १५ । दाङको तुलसीपुरमा आज बिहीबार १ सय २० जनाले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् ।
खोप लगाउने अभियान हिजो बुधबार देखि सुरु भएको हो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट हिजो र आज गरि २ सय ७ जनालाई कोरोना विरुद्धको खोप प्रदान गरिएको तुलसीपुर उपमहानगरपालिका कोभिड-१९ फोलक पर्सन विमल केसीले जानकारी दिए ।
उनका अनुसार बिहीबार मात्र महिला स्वास्थ्य स्वयंमसेविका १ ,चालक १,स्वास्थ्यकर्मीहरु ९३ जना र अन्य सरसफाई तथा कर्मचारीहरु २५ जना गरि जम्मा १ सय २० जनालाई खोप प्रदान गरिएको छ ।
खोप लगाउनेहरुमा स्वास्थ्य चौकी , सरकारी अस्पताल , निजि अस्पताल ,दर्तावाला पोलिक्लिनकमा कार्यरत स्वास्थ्यकर्मीहरु , एम्वुलेन्स चालक ,सरसफाईकर्मीहरु र अन्य केही अस्पतालका कर्मचारी रहेको फोकल पर्सन केसीले जानकारी दिए ।
उनले अहिले सम्म खोप लगाएकाहरुलाई कुनै पनि नकारात्मक असरहरु नदेखिएको बताए ।
त्यस्तै यो खोप अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीहरु र अन्य व्यक्तिहरुलाई माघ २३ गते खोप प्रदान गरिने छ ।
फोकल पर्सन केसीका अनुसार पहिलो चरणमा तुलसीपुरमा मात्रै ९ सय ७५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
त्यस्तै अन्य पालिकाहरूको समेत गरि पहिलो चरणमा १ हजार २ सय ७५ जनालाई खोप लगाउने लक्ष्य रहेको उनले जानकारी दिए ।
खोप प्रदानका लागि चिकित्सक सहितको टिम परिचालन गरिएको केसीले बताए ।
साथै उनले यो खोप गर्भवति ,स्तनपान गराउने महिलाहरु, कुनै औषधि प्रति एलर्जी भएका तथा गर्भधारण गर्ने चाहना भएका र कोभिड -१९ संक्रमण भएको २ महिना नपुगेको व्यक्तिलाई नलगाउन सुझाव दिएका छन् ।