२०८१ भाद्र २८ गते शुक्रवार

निकुञ्जमा राति ८ बजेपछि मोटरसाईकलमा यात्रा गर्न रोक


दाङ, पुस १८ । बर्दिया जिल्ला प्रशासनले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकलमा यात्रा गर्न शनिवार रोक लगाएको छ । बेलुका ८ बजेदेखि विहान ६ बजेसम्म मोटरसाईकल, साईकल, अटो रिक्सा जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले त्यो बाहेकको समयमा पनि अबदेखि १० जनाको समुह भएमा मात्रै साधन सञ्चालन गर्न पाउने गरि व्यवस्थापन गर्न निकुञ्ज प्रशासनलाई निर्देशन दिएको जानकारी दिए ।

दिउँसोको समयमा पनि एक्लाएक्लै यात्रा गर्न नदिने र मोटरसाईकल, साईकल जस्ता सवारी चालकहरु दशवटा जम्मा भएपछि मात्रै यात्रा गर्न दिने नियम लागु गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले फोनमा जानकारी दिए ।

मोटरसाईलकमा सवार महिलालाई बाघले झम्टिएर मारेपछि मानविय सुरक्षाको दृष्टिकोणले त्यस्तो नियम लागु गर्नु परेको अधिकारीले जानकारी दिए । यसैबीच बाघको आक्रमणबाट मृत्यु भएकी कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापाको शव आफन्तले बुझेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र खड्काका अनुसार पोष्ट मार्टम पछि शनिवार बेलुकी पख आफन्तले शब बुझेर लगेका हुन । पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउने बारेमा निकुञ्ज प्रशासनसंग कुरा गरिने जानकारी दिए ।

शुक्रवार राति दश बजेतिर छोरा सञ्तोषसंगै मोटरसाईकलमा पूर्व बाँकेको कोहलपुरबाट पश्चिम कैलालीस्थित घर जाँदै गर्दा पूर्वपश्चिम राजमार्गको निकुञ्ज क्षेत्रभित्र बाघले झम्टिएर नन्दकलीलाई घिसार्दै लगेर गएको थियो । उनको शव शनिवार मध्यान्हः १२ बजेतिर घटनास्थलको निजकै तीनसय मिटर दक्षिण पश्चिममा फेला परेको डिएसपी खड्काले बताए ।

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *