काठमाडौं, मंसिर २५ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ ।
बिहीवार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले विप्लवलाई व्यक्ति हत्याको राजनीति छोडेर शान्ति मार्गमा आउन आग्रह गरेको हो ।
‘ हाम्रो आजको बैठकलदे विप्लवलाई व्यक्ति हत्याको बाटो छाडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने ।
मंसिर २३ गते बिहान विप्लवका कार्यकर्ताले मोरङका शिक्षक राजेन्द्र श्रेष्ठलाई अपहरण पछि नजिकै जंगलमा लगेर घाँटी रेटेर हत्या गरेको थिए । जस्को जिम्मेवारी विप्लव समुहले विज्ञप्ति मार्फत लिएको थियो ।
नेपाली काँग्रेसको पदाधिकारी बैठकले बर्बर ढंगले श्रेष्ठको हत्या गरिएको भन्दै त्यसको विरोध पनि गरेको छ ।
उस्ले घटनामा संलग्नलाई पहिचान गरि कानुनी कारवाहीको माग गरेको छ ।
प्रबक्ता शर्माले बैठकमा मंसिर २९ गते काँग्रेसले गर्ने भनेको देशव्यापी प्रदर्शनबारे पनि छलफल भएको जानकारी दिए ।