घोराही, मंसिर २३ । दाङका द्वन्द पिडित महिलाहरुको लागि जिल्लाका विभिन्न स्थानमा व्यवसायीक तालिमहरु सुरु गरिएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा जिल्लामा सञ्चालन भएको ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्तरगत तालिम सुरु गरिएको हो ।
सहभागिहरुलाई बंगुरपालन, बाख्रापालन, लोकल कुखुरा पालन, तरकारी खेति, कटाई सिलाई, गुडिया बनाउने तालिम र कम्प्यूटर तालिमहरु दिने गरिन्छ ।
तालिमको दंगिशरण गाँउपालिका वडा नम्बर १ बाट सुरु गरिएको छ ।
हाल दंगिशरण गाँउपालिकाको वडा नम्बर १, २ र ६, तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ र १३, घोराही उपमहानगरपालिकाको वडा नम्बर ३ र १७ र बंगलाचुली गाँउपालिकाको वडा नम्बर १ मा तालिम भइरहेको छ ।
द्वन्द प्रभावित महिलाहरुको आर्थिक स्तरमा वृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्धेश्यकासाथ महिलाहरुको लागि तालिम सुरु गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगीले बताइन ।
द्वन्दको समयमा प्रत्यक्ष रुपमा प्रभावित महिलाहरुलाई व्यवसाय मार्फत आत्मनिर्भर गराउन यसरी व्यवसायिक तालिम आयोजना गरिएको योगीले जानकारी दिइन ।