तुलसीपुर, मंसिर २२ । तुलसीपुरमा हालसम्म १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा दूई महिला र १६ पुरुष रहेका छन् । तथ्याङ्क नियाल्दा मृत्यु दर गुणात्मक रुपमा बृद्धि भइरहेको देखिएको छ ।
असोज महिनामा दूई जना, कात्तिकमा आठ जना र मंसिर महिनाको २१ गतेसम्म थप आठ जना गरि १८ जनाको मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् । यो बीचमा सुत्केरी, कर्मचारी, व्यापारी, दिर्घरोगी र प्रतिष्ठित व्यक्तिहरुको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा २० बर्षदेखि ८१ बर्ष उमेर सम्मका रहेका छन् ।
तुलसीपुरमा ६६८ जनाले कोरोना जिते
तुलसीपुरमा हालसम्म ७ सय ६० जनामा कोरोना संक्रमन पुष्टि भएको छ । त्यसमा ५ सय ३९ पुरुष र २ सय २१ महिला रहेका छन् । त्यसमध्य ६ सय ६८ जना निको भएर घर फर्किएका छन् । त्यसमा ४ सय ७७ पुरुष र १ सय ९१ महिला रहेका छन् । यो बीचमा ४ महिनाका शिशुदेखि ८६ बर्षसम्मका व्यक्तिले कोरोना मुक्त भएर घर फर्किएका छन् ।
त्यस्तै हाल तुलसीपुरमा कुल ८६ जना सक्रिय संक्रमितले उपचार गराई रहेका छन् । जसमा ५८ पुरुष र २८ महिला छन् । हाल संक्रमित मध्य १३ बर्षदेखि ७२ बर्ष सम्मका व्यक्ति रहेको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् । जसमध्य हाल होम आइसोलेनसमा ७९ जना रहेका छन् ।
बेलझुण्डी कोरोना विशेष अस्पतालमा एक जनाको आईसियूमा उपचार भइहरेको छ भने थप चार जनाको एचडियू वार्डमा उपचार भइरहेको छ । त्यस्तै कोहलपुर मेडिकल कलेजमा थप दूईजनाको आइसियूमा उपचार भइरहेको तुलसीपुरका कोरोना फोकल पर्सन केसीले बताएका छन् ।
आइतवार तुलसीपुरका थप चार जना नयाँ संक्रमित थपिएका छन् । तुलसीपुर वडा नं. २ का एक पुरुष र एक महिला , वडा नं. ६ का एक पुरुष र वडा नं. ११ का थप एक जना पुरुषमा संक्रमन पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिएका छन् ।
आइतवार थप १३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य मापदण्ड पालना नगर्दा पछिल्लो समय संक्रमन झनै बढ्दै गएको फोकल पर्सन केसीले बताएका छन् । उनले कोरोनाको जोखिम कायमै रहेको हुँदा कोरोनाबाट जोगिन सबैले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने बताएका छन् ।