दाङ, मंसिर १४ । रोल्पामा एकै ठाउँमा दूई युवाको शव फेला परेको छ । सुनिल स्मृति गाउँपालिका वडा नं। ४ जिया खोला किनारमा दूई युवाका शवहरु एकै ठाउँमा फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार दश मिटरको दुरीमा दुईवटा शवहरु फेला परेका हुन ।
१२ गते बेलुका माछा मार्न गएका स्थानीयले दूई युवाका शव एकै स्थानमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । शवको प्रकृति हेर्दा २२÷२४ दिन पहिले मृत्यु भएको जस्तो देखिएको र अनुहार समेत सडि गलेको हुँदा पहिचान गर्न कठिन भएको डिएसपी सुवेदीले बताए ।
दूई वटै शवहरु पोष्टमार्टमको लागि जिल्ला अस्पताल लिवाङ राखिएको छ । मृतकको उमेर अन्दाजी ३० देखि ४० बर्षको बीचमा रहेको अनुमान गरिएको छ ।
एक जनाको साथमा मोवाईल पनि फेला परेको र त्यो मोवाईमा प्रयोग भएको सीमकार्ड दाङको बंगलाचुली गाउँपालिका वडा नं। २ का कृष्ण केसीको नाममा दर्ता भएको पाइएको प्रहरीले बताएको छ ।
प्रहरीले केसीका परिवार र अर्का एकजना प्यूठान जिल्लाका व्यक्तिलाई शब पहिचानका लागि बोलाइको डिएसपी सुवेदीले बताए ।
उनले शव नजिकै दूईवटा टर्चपनि फेला परेको हुँदा रातिमा पैदल हिडिरहेको समयमा भिरबाट लडेर दुबै जनाको मृत्यु भएको आशंका भइरहेको जानकारी दिए ।
