२०७७ माघ ९ गते शुक्रवार

टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको काम सूरु

तस्बिर : राजेश खत्री

तुलसीपुर , मंसिर ८ । दाङ तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको काम सुरु भएको छ । आगामी बैशाख १ गते उद्घाटन गर्ने गरि इन्धन डिपो स्थापनाको काम सुरु भएको नेपाल आयल निगमका कार्यकारी सुरेन्द्र पौडेलले  जानकारी दिए ।

त्यसको लागि एयरपोर्ट प्रवेशद्धारको दक्षिण कुनामा पक्कि संरचना निर्माण गरिने उनले बताए । स्थायी संरचना निर्माणको लागि नेपाल नागरिक उड्यन प्राधिकरण संग संझौंता भइसकेको तथा जग्गा प्रयोग गरे बाफत आयल निगमले नागरिक उड्यन प्राधिकरणलाई भाडा तिर्ने पौडेलले जानकारी दिए । रिफिल्यूलिङका लागि निर्माण गरिने स्थायी संरचनामा सानो अफिस एरिया, क्यालिबरेसन टावर, पार्किङ एरिया, दूईवटा बाउजर र ६ वटा ट्याङकलाई आवश्यक पर्ने अर्कौ एउटा भौतिक संरचना निर्माण गरिने भएको छ ।

नेपाल आयल निगमका कार्यकारी सुरेन्द्र पौडेल ।

त्यसका लागि झन्डै ७५ मिटर लम्वाई र ३० मिटर चौडाईको कम्तिमा ५ देखि ७ रोपनी जग्गा चाहिने कार्यकारी पौडेलले अनुमान गरे । प्रविधिको टेन्डर भइसकेको र अब यसमा जमिन रिफिलिङ गरेर कालोपत्रे गर्ने मात्रै काम बाँकी रहेको पौडेलले जानकारी दिए ।

अत्याधुनिक र सानो एअफएस रिफिल्यूलिङ सेन्टर स्थापना गरिने उनले जानकारी दिए । त्यो भनेको रेडिमेड रिफिल्यूलिङ् ट्याङ्क हो । त्यो ट्याङकले फिल्टर गर्ने देखि लिएर रिफियूलरमा रिफिल्यूल गर्नेसम्मको सम्पूर्ण कार्य आफै गर्ने गर्छ ।

निगमका कार्यकारी पौडेलले रिफिल्यूलिङ सेन्टरका लागि दूई वटा ३०÷३० केएलको ट्याङ्कीहरु जडान गरिने जानकारी दिए । ती ट्याङ्कीमा भण्डारण हुने इन्धनले दैनिक तीनवटा जहाज आएपनि कम्तिमा पनि १५ दिन सम्म इन्धन पुग्ने निगमका कार्यकारी पौडेलले जानकारी दिए ।

अफिसपनि हामी छिट्टै बनाउन सुरु गर्छौं र बैशाख १ गते उद्घान गर्ने हाम्रो लक्ष्य रहेको उनले बताए । यी सबै संरचना निर्माण गर्न झन्डै दश करोड जति खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमा झन्डै एक करोड जति तुलसीपुर उपमहानगरपालिकाले बेहोर्ने र बाँकी जम्मै रकम आयल निगमले बेहोेर्ने पौडेलले जानकारी दिए ।

संरचना निर्माण गर्दा खेरि ढल व्यवस्थापन, सुरक्षाकर्मी बस्ने पुरानो भवन पनि हटाउनु पर्ने हुँदा त्यसमा उपमहानगरपालिकाले सघाउने सहमति भएको पौडेलले बताए । रिफिलिङ एकान्त स्थानमा राखिने र रिफिल्यूलिङ गरि सकेपछि बाउजर गाडीहरु साईडबाट मात्रै जाने हुँदा पुराना संरचना हटाउनु पर्ने अवस्था देखिएको पौडेलले बताए ।

ती पुराना संरचना हटाउनु पर्ने अवस्थामा आयल निगम वा नागरिक उड्यनका लागि तुलसीपुर उपमहानगरपालिकाले छुट्टै संरचना निर्माण गरिदिने संझौंता भएको पौडेलले जानकारी दिए । उपमहानगरपालिकाको एक करोड र निगमको नौं करोड जति लागत लाग्ने निगमका कार्यकारी पौडेलले अनुमान गरे ।

सपनाको परियोजना अब पुरा हुँदैछ – मेयर पाण्डे
तुलसीपुरका मेयर घनश्याम पाण्डेले लामो समयको अन्तरालमा भएपनि सपनाको परियोजना पुरा हुन लागेको भन्दै खुसी व्यक्त गरेका छन् । मेयर पाण्डेले भने – ‘यो दाङबासीको सपना र आवश्यकताको कुरा हो । त्यसैले हामी यो सफल पार्न लागि पर्ने छौं।’

उनले रिफिल्यूलिङ सेन्टर स्थापनाले दाङको हवाई सेवा थप सुद्रिढ हुने विश्वास व्यक्त गरे । इन्धन डिपो स्थापना भएपछि दाङमा प्लेनका संख्या पनि थपिने, भाडापनि केही सस्तो हुने आशा उनले व्यक्त गरे । त्यस्तै निकट भविस्यमै दाङदेखि मुगुको रारा सम्मको उडान गर्ने तयारी गरिएको मेयर पाण्डेले बताए । उनले आफुहरुले दाङ पोखरा उडानको लागि समेत प्रयास गरिरहेको जानकारी दिए ।

टरिगाउँ एयरपोर्टमा विक्रम संवत २०११ सालमा पहिलो पटक विमान अवतरण भएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पछि यो नै नेपालको दोस्रो पुरानो एयरपोर्ट हो ।

यो एयरपोर्ट लोकेन्द्र विष्ट मगर पर्यटन मन्त्री भएको समयमा कालो पत्रे भएको थियो । तर यसको धावन मार्ग जम्मा ७ सय मिटर लम्वाई र ३० मिटर चौडाईमा मात्रै कालोपत्रे भएको हुँदा ट्विनटर विमान मात्रै यसमा अवतरण गर्न सक्छन् । यसको धावन मार्ग विस्तार गर्न जिल्लाबासीले माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *