२०८३ जेष्ठ २३ गते शनिवार

भोलिदेखि कक्षा १२ को परीक्षा शुरु हुँदै – यस्ता छन् स्वास्थ्य सुरक्षाका मापदण्ड

काठमाडौँ,मंसिर ८ । भोलि मंगलबारदेखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ। परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन् ।

परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता मापदण्ड कडाइपूर्वक पालना हुने भएकाले ढुक्क हुन उनको अपिल छ । यस्तै परीक्षा केन्द्र वरपर भीडभाड नगर्न मन्त्री पोखरेलले अभिभावकसँग आग्रह पनि गरेका छन्।

परीक्षाको सिलसिलामा विद्यार्थीलाई कोभिड सङ्क्रमण पुष्टि भएर परीक्षामा सहभागी हुन नसक्ने अवस्था आएमा फेरि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको पनि उनले बताएका छन् ।

परीक्षा केन्द्रमा आउँदा, जाँदा र घरमै रहँदा पनि आवश्यक सचेतना अपनाउन सरकारले आग्रह गरेको छ ।

सरकारले सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । हेल्थ डेस्कमा हात धुने र ज्वरो नाप्ने व्यवस्था हुनेछ ।

विद्यार्थी, निरीक्षक र परीक्षा केन्द्रमा रहने कर्मचारीले अनिवार्य मास्क लगाउनुपर्नेछ । एउटा कोठामा बढीमा २० जना परीक्षार्थी मात्र राख्न पाइनेछ । विद्यार्थीलाई दुई, दुई मिटरको दूरीमा मात्रै राख्नुपर्नेछ ।

कुनै परीक्षार्थीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा छुट्टै कोठाको व्यवस्था गर्नुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ ।

कक्षा १२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन बोर्डले निर्देशन दिएको छ ।

भोलिदेखि सुरु हुने परीक्षा मंसिर १६ मा सकिनेछ । सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो ।

४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने बोर्डले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *