काठमाडौं,कात्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले शुक्रबार शिष्टचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता भएको जानकारी दिएका छन्।
तीन दिने भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्रीसँग भेटेका हुन्। प्रधानमन्त्रीसँगको भेट अर्थपूर्ण हुने बताइएको छ।
नेपालसँगको सम्बन्ध सुधारका लागि भारतीय संस्थापनले सेनापतिमार्फत सन्देश पठाएको अनुमान गरिएको छ। सम्बन्ध चिसिएको बेला सैन्य कुटनीति प्रयोग र परिचालन गरेर सम्बन्ध सुधारका लागि पहल गर्ने पहिलेदेखिको प्रचलन हो।
भेटमा दुई देशको सैन्य सम्बन्ध र रक्षा सहकार्यबारे छलफल हुने बताइएको छ। स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा सिमा विवाद लगायतका दुई पक्षीय विषयमा छलफल हुनेसक्ने स्रोतले बताएको छ।
नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको थियो।
उनले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए। दुई देशका सेनाप्रमुखहरूबीच जंगीअड्डामा औपचारिक भेटवार्ता भएको हो। भेटवार्तामा दुई सेनाबीचको घनिष्ठ सम्बन्धलाई कायम राख्दै द्धिपक्षीय रक्षा सहकार्य विस्तार जोड दिइएको छ।
