
फाइल तस्बिर
काठमाडौं, कात्तिक १६ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले आफुलाई पार्टी फुटाउन प्रस्ताव गरेको बताएका छन् । आइतवार आफ्नो निवास खुमलटारमा भेला भएका सचिवालय सदस्यहरुलाई प्रचण्डले शनिबारको भेटमा प्रधानमन्त्री ओलीले आफुलाई अलग पार्टी बनाएर जान प्रस्ताव गरेको बताएका छन् ।
उक्त भेलामा वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्ष वामदेव गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा सहभागि थिए ।
त्यही खुमलटारको भेलामा प्रचण्डले आइतवार प्रधानमन्त्रीले पार्टी फुटाउन चाहेको ब्रिफिङ गरेको एक नेताले बताएका छन् । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पनि पार्टी एकता संकटमा परेको बताएका छन् । त्यस्तै कुराहरुले गर्दा नेकपा फूटको संघारमा पुगेको हल्लाहरु फेरि चुलिन थालेका छन् ।
तर, प्रधानमन्त्री ओली निकटका नेताहरुले भने प्रचण्डले प्रधानमन्त्री ताकेको हुँदा समस्या उत्पन्न भएको बताएका छन् । ‘प्रधानमन्त्रीलाई ओलीलाई गलहत्याएर आफु सोही पदमा पुग्ने प्रचण्डको लालचले पार्टी एकता संकटमा पर्न अवस्था आएको छ,’ ती नेताले भने ‘ यस्तै अवस्था कायमै रहे पार्टी फुट्न सक्छ ।’
यसअघि पनि यस्तै हल्लाहरु व्याप्त भएपनि अन्त्यमा ओली र प्रचण्डका बीचमा सहमति कायम भएको थियो । २०७५ साल जेठ २ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो ।
