तुलसीपुर, कात्तिक ८ । नेपाल–भारत सीमा नाका कोईलाबास क्षेत्रको जंगलमा लोड गरिएको अवस्थामा एउटा भरुवा बन्दुक फेला परेको छ ।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासनाका प्रमुख माधवप्रसाद ढुङगेलको नेतृत्वको गस्ति टोलीले गएराति १० बजेतिर जंगलमा लोड गरेर तयारी अवस्थाको भरुवा बन्दुक फेला पारेको हो ।
गढवा गाउँपालिका वडा नम्बर ८ स्थित भालुखोला जंगलबाट उक्त भरुवा बन्दुक सशस्त्र प्रहरीले फेला पारेको सीमा प्रहरी चौकी कोईलाबासका प्रमुख प्रनानी नन्दराम केसीले जानकारी दिए ।
चोरी सिकारी गर्ने समुहले सुरक्षाकर्मीलाई देखेपछि लोड गरिएको उक्त भरुवा बन्दुक फालेर भागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । भरुवा बन्दुक फेला परेको स्थानवाट २१ थान भरुवा बन्दुकमा लाग्ने छर्रा, ३ थान केपपनि बरामद भएको प्रहरीले बताएको छ ।
बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेपछि अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
