
तस्विर झुपू क्षेत्रीको फेसबुकबाट
तुलसीपुर, कात्तिक ७ । पश्चिम दाङवाट रातको समयमा गाई गोरु तस्करी हुने गरेको तथ्य उजागर भएको छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्वमा विहीवार राति तस्करले लैजान लागेका झन्डै १०० गाई गोरु उनीहरुले रोक्न सफल भएका छन् । बबई गाउँपालिका वडा नं. ६ पञ्चकुले क्षेत्रवाट लैजान खोजेका ती गाई गोरु स्थानीय र आफूहरुको प्रयासले रोकिएको तरुण दल दाङका अध्यक्ष टिका घर्तीले फरककोणलाई बताए ।
विहीवार ठूलो मात्रामा पश्चिम दाङवाट गाई गोरु तस्करी हुँदैछन् भन्ने सूचनाका आधारमा स्थानीयसहित झन्डै ५०÷६० जना स्थानीय जम्मा भएर गाई गोरु प्रहरीको जिम्मा लगाएका थिए । ‘ झन्डै १०० जति गाई गोरु तस्करहरुले रातारात लैजान खोजेका रहेछन्,’ अध्यक्ष घर्तीले भने ‘स्थानीय र हाम्रो प्रयासले तस्करको प्रयास विफल भयो।’
आफुहरुले रातको समयमा कतिपय गाई गोरु चिरा, वन जंगल क्षेत्रमा समेत बाँधेको अवस्थामा फेला पारी प्रहरीको जिम्मा लगाएको अध्यक्ष घर्तीले बताए । ‘ गाई गोरुको अवैद्य तस्करी रोकिनु पर्छ भन्ने हाम्रो माग हो,’ अध्यक्ष घर्तीले भने ‘ हामी तस्करी रोक्छौ र त्यसका लागि तरुण दल कुनैपनि मूल्य चुकाउन परेपनि तयार हुने छ।’ उनले यदी त्यो तस्करी हैन भने किन दिउँसै गाई गोरु लगिदैन ? भन्ने प्रश्न गरे । ‘यदी बैधानिक हो भने दिउँसो लगे हुन्छ,’ घर्तीले भने ‘ रातिमा मात्रै गाई गोरु लैजानुको कारण त्यो अवैध हो भन्ने प्रष्ट हुन्छ।’
अध्यक्ष घर्तीले प्रहरी प्रशासनको समेत मिले मतोमा गाई गोरु तस्करी भइरहेको भन्ने सुन्नमा आएको हुँदा त्यो विषयमा समेत अनुसन्धान गर्न जरुरी रहेको बताए । ‘ प्रशासनले नै गाई गोरु तस्करीलाई सघाउँदै आएको छ भन्ने कुरा आएको छ,’ घर्तीले भने ‘ प्रहरीले नै स्कटिङ गरेर रातारात गाई गोरु पठाउनु कदापी राम्रो मान्न सकिदैन।’
केही दिन पहिले मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दूधेनामा गोरु लैजान लागेको ट्रक स्थानीयले रोकेका थिए । त्यसक्रममा झडप हुँदा ट्रकका परिचालकको खुट्टामा वियरको बोत्तलको आक्रमणबाट गहिरो चोट लागेको थियो । चालकलाई समेत स्थानीयले कुटपिट गरेका थिए । उक्त दिन हापुरवाट गोरु ल्याइएको चालकहरुले फरककोणको टिमलाई बताएका थिए ।
दूई समुहका बीचमा झडप भएपछि मध्य रातमा त्यहाँ प्रहरी पुगेको थियो । प्रहरी पुगेपछि गोरु तस्करहरुले अर्कै ट्रक बोलाएर गोरु हालेर लगेका थिए । जिल्लाका प्रहरी अधिकारीहरु भने गृहमन्त्रालयवाट उनीहरुले पशु चौपाया ढुवानीको परिपत्र लिएर आएको हुँदा आफुहरुले त्यसमा केही गर्न नमिल्ने प्रक्रिया दिएका छन् ।