दाङ, कात्तिक ४ । लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको निशुल्क उपचारलाई निरन्तरता दिने भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको निस्शुल्क उपचार गर्ने बताएका छन् ।
लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका सबै संक्रमितको निशुल्क उपचार गर्ने उनले जानकारी दिएका छन् ।
मुख्यमन्त्री आफ्नो सामाजिक सञ्जाल मार्फत त्यस्तो जानकारी दिएका छन् ।
उनले लेखेका छन् – ‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’
लुम्बिनी प्रदेशमा दाङको बेलझुण्डीस्थित केन्द्रिय आयुर्वेद अस्पताल, बाँकेस्थित भेरी अस्पताल र ररुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा गरि चारवटा कोरोना विशेष अस्पताल रहेका छन् ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयको व्यापक आलोचना हुँदै आएको छ ।
धेरै अधिकारकर्मी तथा सर्वसाधारणले राज्यले कर किन तिर्ने रु भन्ने सवाल उठाएका छन् । कतिपयले राज्य विहिनताको महशुस भएको धारणा सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन् ।