२०८१ चैत्र ३ गते आइतवार

सञ्चारकर्मी दुरब्यवहार हुन नदिने एसपी चन्दको प्रतिवद्धता


घोराही, कार्तिक २ । विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरु माथि प्रहरीबाट लगातार दुरब्यवहार हुुन थालेपछि नेपाल प्रेस युनियन दाङले दाङ प्रहरीको ध्यानाकर्षण गराएको छ । आइतवार जिल्ला प्रहरी कार्यालय पुगेको युनियनको टोलीले पत्रकारहरु माथि केहि दिन यता प्रहरीबाट भैरहेका दुरब्यवहारका घटनाहरु बारे जानकारी गराएको थियो । साथै उक्त टोलीले प्रहरीबाट पत्रकार माथि दुरब्यवहारका घटना बढेको हो कि ? भन्दै जिल्ला प्रहरी नेतृत्वको ध्यानाकर्षण गराएको थियो ।

‘राति सम्म विभिन्न सञ्चार माध्यममा ड्युटि पुरा गरेर घर÷कोठामा जान थालेका सञ्चारकर्मीहरु माथि प्रहरीले दुरब्यवहार गर्नु राम्रो हैन,’ नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दको ध्यानाकर्षण गराउँदै भनेका थिए ‘ रातिको समयमा ड्यूटिमा खटिएका प्रहरीहरु संयम हुन जरुरी देखिएको छ ।’

पछिल्लो सयम युनियन दाङका निवर्तमान सचिव तथा रेडियो स्वर्गद्धारी एबं नागरिक दैनिकमा कार्यरत देवेन्द्र बस्नेत माथि प्रहरीले अपाच्य शब्द प्रयोग गरेर गाली गर्नु अत्यन्त खेदजनक भएको भन्दै युनियनले एसपी चन्दलाई यस्ता घटनाहरु हुन नदिनका लागि तत्काल संगठन भित्र पहल थाल्न सुझाव समेत दिएको थियो । ‘हामी समग्र सञ्चारकर्मीहरुमाथि भएका दुरब्यवहारले दुखित छौँ,’ यूनियन दाङका अध्यक्ष सुवेदीले भने ‘प्रहरीबाट अब हाम्रा सञ्चारकर्मीहरुलाई दुरव्यवहार खेप्नु नपरोस् । नेतृत्वले यसबारेमा गम्भिर भएर सोच्नु पर्ने अवस्था छ ।’

यूनियनको टोलीसंग एसपी चन्दले फिल्डमा तल्लो तहका आफ्ना कर्मचारीहरुबाट त्रुटि भएको स्वीकार्दै आगामी दिनमा सुधारेर जाने प्रतिवद्धता जनाएका थिए । उनले फिल्डमा प्रहरीबाट भइरहेका गलत कार्यका बारेमा जानकारी दिइएको भन्दै यूनियनको टोलीलाई धन्यवाद समेत दिएका थिए ।

‘हामीहरुले पहिलो आवश्यक्तानै मिठो बोली भनेर सिकाईरहेका छौँ । हाम्रो मिशन पनि फिल्डमा खटिएको प्रहरीले मिठो बोलि बोलोस् भन्ने नै हो,’ एसपी चन्दले भने ‘तर तल्लो तहका प्रहरी कर्मचारीहरुबाट त्यस्ता त्रुटिहरु भएका छन् । गम्भिर रुपमा यो कमजोरीलाई सच्याएर म अगाडी बढ्छु ।’ उनले अब रात्रिकालिन ड्यूटी गर्ने सञ्चारकर्मी तथा पत्रकारहरुलाई प्रहरीबाट दुरब्यवहार हुन नदिनेमा आँफू प्रतिवद्ध रहेको समेत वताए ।

सञ्चारकर्मी माथि प्रहरीबाट भएको दुरब्यवहारको घटनाबारे ध्यानाकर्षण गराउन युनियन दाङका अध्यक्ष सुवेदीको नेतृत्वमा सल्लाहकार हेमराज शर्मा, निवर्तमान सचिव देवेन्द्र बस्नेत र सचिव आरके सितल जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *