
तुलसीपुर , असोज २२ । दाङमा अवैद्य एक किलो सुनसहित पक्राउ परेका तीन जना युवालाई प्रहरीले विहीवार बेलुका सार्वजनिक गरेको छ । पक्राउ परेका मध्य दूई जना दाङ घोराहीका र एकजना बुटवलका निवासी हुन । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डिएसपी सुमित खड्काले जुत्ताको तलुवा मुनि लुकाएर अवैध रुपमा नेपालगञ्ज तर्फ लैजाँदै गरेको सुन गोप्य सूचनाको आधारमा बरामद भएको जानकारी दिए ।
घोराहीवाट नेपालगञ्ज तर्फ जाँदै गरेको प्रदेश ३ – ०१०२३ च ३२६१ नम्वरको क्रेटा कारलाई रोकी चेकजाँच गर्ने क्रममा घोराही १४ निवासी ४२ बर्षीय सम्मानकुमार श्रेष्ठले लगाएतको जुत्ताको तलुवा मुनि लुकाएर राखिएको अवस्थामा दूई वटा सुनको पाता फेला परेको निमित्त प्रहरी प्रमुख खड्काले फरककोणलाई बताए । ‘श्रेष्ठले लगाएको दायाँ खुट्टाको जुत्ताको तलुवामा ५०० ग्रामको एउटा पाता र बायाँ खुट्टामा थप ५०० ग्रामको अर्कौ सुनको पाता फेला परेको हो,’ निमित्त कार्यालय प्रमुख खड्काले भने । पँहेलो सुन जस्तो देखिने चारपाटे ती दूईवटा धातुको तौल गर्दा १००० ग्राम तौल हुन पुगेको डिएसपी खड्काले जानकारी दिए ।

नेपालगञ्ज तर्फ गइरहेको उक्त कारलाई आशंका लागेर दाङको लमही नगरपालिका वडा नं. ९ अमिलियामा रोकी चेकजाँच गर्दा बिहीवार विहान साढे ११ बजेतिर त्यसमा सवार श्रेष्ठको जुत्तामुनि त्यो सुन जस्तो धातु बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले कारचालक घोराही वडा नं. १५ निवासी २५ बर्षीय सुवाश श्रेष्ठ र कारमा सवार बुटवलका अपुर्ब थैब श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।
साथै प्रहरीले सुन लुकाएर लैजाँदै गरेका सम्मानकुमार श्रेष्ठको साथबाट सुनको सिक्रि २ . ३ . ०६ र नगद ६० हजार समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चालक सुवाश श्रेष्ठको साथवाट साढे १२ हजार नगद र बुटवलका अपूर्व थैब श्रेष्ठवाट १ हजार १ सय २० रुपैंया नगद र एउटा चाँदीको सिक्रि बरामद भएको छ । पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
