सुर्खेत, असोज २१ । जाजरकोटमा बुधवार दिउँसो भएको जीप दुर्घटनामा परि वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक जीप दुर्घटना हुँदा सोही वडाका वडाध्यक्ष अमरबहादुर शाहीसहित ५ जनाको मृत्यु भएको छ । उनी वडा नं. ११ का वडाध्यक्ष हुन ।
दुर्घटनामा परि जुनीचाँदे गाउँपालिका वडा नं. ५ निवासी मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्णबहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र जुनीचाँदे–१ का अन्दाजी ६५ वर्षका बहादुर शाहीको पनि मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले एक अधिकारीले जानकारी दिए ।
बुधबार दिउँसो २ बजेतिर भे १ ज ९३५ नम्बरको जीप दुर्घटना भएको हो। जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ।