नेपालगन्कोज,असोज १८ ।कोरोना सङ्क्रमित एक सुत्केरीको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा आईतवार बिहान मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका २ महेन्द्रनगर कञ्चनपुर निवासी २९ वर्षीय सुत्केरीको शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा उपचारकै क्रममा आईतवार बिहान ४ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, सेती अस्पताल धनगढीमा जुम्ल्याहा सन्तान जन्मिएपछि उच्च रक्तश्राव भएका कारण पाठेघरको शल्यक्रिया गर्नुका साथै ८ पोइन्ट होल रगत र ४ पोइन्ट प्लेटलेट रगत दिँदा पनि स्वास्थ्यमा सुधार नआएपछि शिक्षण अस्पताल कोहलपुरमा रिफर गरिएको थियो ।
सेती अस्पतालको प्रयोगशालामै असोज १४ गते गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएकोे रिफरपत्रमा उल्लेख छ । १५ गते अपरान्ह ४ बजे शिक्षण अस्पतालमा भर्ना हुँदा विरामीको अवस्था जटिल र बेहोस रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
विरामीको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत विरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।
यो सँगै बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट आएर उपचारको क्रममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । बाँकेका मात्रै २० जनाको कोेरोना सङ्क्रमणका कारण मृत्यु भईसकेकोे छ ।