रामकुमार श्रेष्ठ,
नवलपरासी असोज ९ । पूर्वी नवलपरासीको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत दाउन्नेमा खसेको पहिरोमा एउटा बस पुरिंदा बसमा सवार एक जनाको मृत्यु भएको छ ।१७ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहीबार बेलुका विनयी त्रिवेणी २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो ।
पूर्वबाट पश्च्मि तर्फ आउँदै गरेको उक्त बस पुरिंदा बसमा सवार १८ जना घाइते भएका थिए । घाइते मध्ये पश्चिम रुकुमको आठविसकोठ गाउँपालिका १० बस्ने २५ बर्षीय हरिषचन्द केसीको राति ९ बजेतिर उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
दुर्घटनामा परी ११ जना सामान्य घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपलिका निवासी २७ बर्षीया प्रतिभा खड्का, सोही स्थानका १० बर्षीय प्रज्ञान बस्नेत, १६ बर्षीया खुमा बुढाथोकी, सिमखर्क गाउँपलिका ७ निवासी ३५ बर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० बर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ बर्षीया शिवा पुन गम्भीर घाइते भएका छन् ।
उनीहरुको टाउको, ढाड, छातिमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
पहिरोको कारण अवरुद्ध राजमार्ग विहान ४ बजेपछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।