२०८१ चैत्र ६ गते बुधवार

वीरगन्जमा थप चार कोरोना संक्रमितको मृत्यु

वीरगन्ज,असोज ५ । वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साका दुई तथा बारा र रौतहटका एकरएक जना छन् ।

तीन संक्रमितको आइतबार र एक जनाको शनिबार उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । ती पुरुष भदौ ३१ गते अस्पताल भर्ना भएका थिए ।

नारायणीमै उपचाररत वीरगन्ज महानगरपालिका–६ रेसमकोठीका ८८ वर्षीय संक्रमितको पनि आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनी असोज २ गते अस्पताल भर्ना भएका थिए ।

उपचारका क्रममा स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै वीरगन्जको नगवामा नेसनल मेडिकल कलेजले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका ६५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए ।

मधुमेह र मुटुसम्बन्धी रोग रहेका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले असोज १ गते अस्पताल ल्याएका थिए ।सोही अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका–४ बिर्ताका ७८ वर्षीय पुरुषको पनि शनिबार अपराह्न ४ बजे मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले भदौ ३१ मा उनलाई अस्पताल भर्ना गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *