रोल्पा, असोज २ । कोरोना भाइरसको संक्रमणको त्रासका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु खुल्न थालेका छन् । गत चैत ११ गतेपछि बन्द रहेका रोल्पाको माडी गाउँपालिकाका विद्यालयहरु विहीवारबाट सञ्चालनमा आएका छन् ।
भदौ १९ गते बसेको मन्त्रिपरिषद्को निर्णय तथा सोहीवमोजिमको निर्देशिका वमोजिम गाउँ शिक्षा समितिको बैठकले असोज १ बाट विद्यालय खोल्ने निर्णय गरेपछि माडी गाउँपालिकामा विद्यालय खुलेका हुन् ।
विद्यालय सञ्चालनमा आएपछि बालबालिकाहरु विद्यालय पढ्न आउन थालेको माडी गाउँपालिका शिक्षा शाखा प्रमुख परशुराम ढकालले जानकारी दिएका छन् ।
कोरोना भाइरस संक्रमण फैलने त्रासका कारण रोल्पाका अन्य स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्न नसकिरहेका बेला माडी गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याएको हो ।
कोेरोना भाइरसको संक्रमणबाट बच्नका लागि सुरक्षाको सम्पूर्ण मापदण्ड पु¥याएर विद्यालयलाई सञ्चालन गरिएको शिक्षा समितिका अध्यक्ष समेत रहेका माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिएका छन् ।
लामो समयसम्म विद्यालय सञ्चालन नहुदा बिद्यार्थीको पढाइमा नराम्रो असर पर्न गएकाले गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको गाउँपालिका अध्यक्ष पुनले बताए । ‘गाउँमा कोरोना संक्रमित छैनन्, जसका कारण जोखिम छैन’–अध्यक्ष पुनले भने–‘कोरोनाको डरले बस्नुभन्दा सुरक्षा सावधानी अपनाएर खोल्ने निर्णय गरेका हौँ ।’
संक्रमणको लक्षण देखिएमा तत्काल बन्द गर्ने र त्यो स्थानलाई सिल गर्ने गरी व्यवस्था मिलाएकाले विद्यार्थीहरु पनि ढुक्क भएर आउनसमेत गाउँपालिकाले आग्रह गरेको छ ।
बढी विद्यार्थी भएका विद्यालय तथा फरक समुदायबाट आउने विद्यालयमा विद्यार्थीको पालो लगाएर पढाउने व्यवस्था मिलाइएको समेत उनले बताएका छन् ।
गाउँपालिकमा ३३ वटा समुदायिक विद्यालय तथा २ वटा संस्थागत विद्यालयहरु रहेका छन् । विद्यालय सञ्चालनमा आएपछि लामो समयदेखि पढ्नबाट वञ्चित रहेका बालबालिकाहरु उत्साहित देखिएका छन् ।