दाङ,असोज १ । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ निवासी ४५ बर्षीय पुरुषको भेरी अस्पतालमा विहीवार बेलुका सवा ५ बजे मृत्यु भएको छ ।
बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती व्यक्तिमा बुधवार बेलुका मात्रै कोरोना संक्रमन पुष्टि भएको थियो । दुबै फोक्सोमा निमोनिया भएर उनको मृत्यु भएको श्रेष्ठले बताए । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि ती व्यक्तिलाई भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । आशंका लागेपछि उनको पिसिआर परीक्षणका लागि भदौ ३० गते विहान स्वाब संकलन गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन् ।
ती व्यक्तिको स्वास्थ्यमा थप समस्या देखिएपछि र भेन्टिलेटरसहितको उपचारको आवश्यकता परेको हुँदा भदौ ३१ गते राति ११ ः ४५ बजे मात्रै भेरी अस्पतालमा पठाइएको थियो । यो संगै बाँकेमा कोरोना संक्रमित ९ जनाको मृत्यु भएको छ ।