यमकला भुसाल,तुलसीपुर,भदौ ३१ । कारोना महामारीका कारण विगत ६ महिना देखि ठप्प रहेका सार्वजनिक यातयातका साधनहरु असोज २ गतेदेखि पुर्ण रुपमा सञ्चालनमा आउने भएका छन ।
सरकारले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारीका साधनहरु सञ्चालनमा ल्याउने निर्णय गरेपनि १ गते विश्वकर्मा पुजा भएकाले २ गतेदेखि पुर्ण रुपमा यातयातका साधन सञ्चालनमा ल्याउने तयारीमा जुटेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका सल्लाहाकार एवं त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा।ली दाङका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
करिव ६ महिनासम्म थन्किएका गाडीलाई मर्मत नगरी गुडाउन सक्ने अवस्था छैन्,उनले भने,–त्यसैले हिजो,अस्ती देखि नै गाडी सर्भिसिङ,चेकजाचमा जुटेका छौँ ।
उनले विश्वकर्मा पुजा यातयात व्यवसायीहरुको विषेश पर्व भएकाले भोली आंसिक रुपमा लामोदुरीका यातयातका साधनहरु सञ्चालन गरेपनि पर्सी देखि पुर्ण रुपमा सञ्चालन गरिने बताए ।
सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गर्नुपर्ने सरकारले मापदण्ड तोकेको र सोही मापदण्ड अनुसार यातयातका साधनहरु सञ्चालनमा ल्याउने उनले बताए ।
उनका अनुसार जिल्ला भित्र भने भदौँ २८ देखि नै सबै समितिका करिव ५० प्रतिशत गाडीहरु सञ्चालनमा आएका छन ।
सरकारको निर्णय अनुसार गाडीमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्ने र ५० प्रतिशतसम्म बढी भाडा लिने गरिएको हमालले जानकारी दिए ।