
दाङ,भदौ २८ । अपहरणमा परेको नाटक गर्ने एक महिलालाई बाँके प्रहरीले पक्राउ गरेको छ।शनिबार जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका ६ फूलटेक्रा निवासी ३३ वर्षीया आशिककुमारी चौधरीलाई पक्राउ गरेको हो।उनले सानु दहितको नामबाट सुन्दर केटीको तस्विर राखेर नयाँ फेसबुक आइडीु बनाएर नवलपरासीका एक पुरूषसँग सामाजिक सञ्जाल मार्फत कुरा गर्दै आएकी थिइन ।
प्रहरीका अनुसार साथी बनेर फोनमा कुरा गर्दै आएकी उनले भिडिओ च्याट तथा भेटघाट गर्ने कुरा गर्दा पञ्छिने गर्दै आएकी थिइन । तर शुक्रबार उनले नवलपरासीका ती पुरूषलाई आफु नीजि गाडिमा पोखरा जान लागेको तथा पोखरामा समेत आफ्ना भएको बताएकी थिइन । चौधरीले ती पुरूषसँग बाटोमै भेटघाट गर्ने र सँगै पोखरा जान ती पुरुषलाई प्रस्ताव समेत गरेकी थिइन ।
तर चौधरीले ती पुरूषलाई चन्द्रौटामा पुग्दा अपरिचित व्यक्तिहरुले ‘अपहरण’ गरी कोठामा थुनेको र सुन, मोबाइल, गाडीको चाबी समेत लुटेर लगेको गलत कुरा उनलाई गरिन । त्यो कुरा नवलपरासीका ती पुरूषले प्रहरीलाई खबर गरिदिए । अनि बल्ल प्रहरीले चौधरीको खोजी सुरु गरेको थियो । खोजी गर्दै जाने क्रममा प्रहरीले चौधरीलाई उनकै डेरामा फेला पारे पछि पक्राउ गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुबास खड्काले बताए ।
फोनमा कुरा गर्दै आएकी ती महिलाले किन आफु अपहरणमा परेको भनेर झुटो कुरा ती पुरुषसँग गरिन भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
