तुलसीपुर,भदौ २८ । दाङमा सोमबारदेखि रातको समयमा मात्रै लकडाउन हुने भएको छ । बेलुका ७ बजेदेखि विहान ६ बजेको अवधिमा मात्रै लकडाउन गर्ने र अन्य समय खुल्ला हुने भएको छ । विहानदेखि बेलुकासम्म बजार र सार्वजनिक सवारी साधन सञ्चालन समेत सञ्चालन हुने भएका छन् । आइतवार घोराहीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको हो ।
सोमवारदेखि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार, उद्योगधन्दा कलकारखाना र सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले फरककोणलाई जानकारी दिए । तर सार्वजनिक सवारी साधन भने जोरबिजोरका आधारमा संचालनमा गर्न पाइने उनले बताए । यसअघि स्थानीय प्रशासनले विहान ६ बजेदेखि १२ बजेसम्म मात्रै बजार तथा सवारी साधन सञ्चालन हुँदै आएका थिए ।
आइतवारसम्म जिल्लामा कुल संक्रमितको संख्या ८ सय ७३ जना रहेको जिल्ला जनश्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय २८ रहेको छ ।