तुलसीपुर,भदौ २८ । जिल्ला प्रहरी कार्यालय दाङको ठिक अगाडि एक होटल साहुनीको चक्कु प्रहारबाट प्रहरी हवल्दार घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी हवल्दार ४० बर्षीय खड्गबहादुर खत्री होटेल साहुनीको चक्कु प्रहारबाट घाइते भएको एक प्रहरी अधिकारीले जानकारी दिए ।
ती प्रहरी अधिकारीका अनुसार घटना शनिवार बेलुकाको ७ बजेतिर घटेको हो । जिल्ला प्रहरी कार्यालय घोराहीको गेट अगाडि होटेल गरि बस्ने ती महिलाले आफ्नै होटेलमा ती प्रहरी हवल्दारलाई शरिरका विभिन्न भागमा चक्कु प्रहार गरि घाइते तुल्याएको उनले बताए ।
चक्कु प्रहारबाट प्रहरी हवल्दारको टाउको लगाएत शरिरका विभिन्न भागमा काटिएको उनले जानकारी दिए । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा थुनेर राखिएको छ ।
मदिरा सेवन पछि प्रहरी हवल्दारले होटेल साहुनीलाई जिस्क्याउन खोज्दा घटना भएको हुन सक्ने आशंका गरिएको छ ।
प्रहरीले चक्कु प्रहार गर्ने होटेल साहुनी, अर्का एकजना व्यक्ति र घाइते प्रहरी हवल्दार गरि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको ती प्रहरी अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालय दाङका उच्च प्रहरी अधिकारीले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्