
तुलसीपुर, भदौ १४ । टाउकोमा चोट लागेपछि भैरहवा उपचार गर्न गएका घोराहीका एक दम्पत्तिलाई कोरोना संक्रमन पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ निवासी ४० बर्षका पति ÷ पत्निलाई आइतवार कोरोना संक्रमन पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुलाई संक्रमन पुष्टि भएको हो ।
जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार ती दम्पत्ति हालसालै भैरहवामा उपचार गरेर फर्किएका थिए । ‘ श्रीमानको टाउकोमा चोट लागेपछि उहाँहरु उपचार गर्न भनेर श्रीमान÷ श्रीमती भैरहवा गएर फर्किनु भएको रहेछ,’ चन्दले भने ‘ घर फर्किएपछि केही समस्या देखिएपछि उहाँहरु दिपज्योति हस्पिटलमा भर्ना भएपछि आशंका लागेर पिसिआर चेक जाँच गर्दा कोरोना पुष्टि भएको रहेछ।’
आइतवार घोराही १५ का १९ बर्षीय एक युवालाई पनि कोरोना संक्रमन पुष्टि भएको छ । फोकल पर्सन चन्दका अनुसार उनी केही दिन पहिले मात्रै नेपालगञ्जवाट घोराही आएका थिए । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ७७० पुगेको चन्दले जानकारी दिएका छन् ।