दाङ, साउन २७ । रुकुम पश्चिममा पनि निषेधाज्ञा जारी भएको छ ।जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले बुधवार विहान चार बजेदेखि लागु हुने गरि निषेधाज्ञा जारी गरेको हो । बढी संक्रमित फेला परेको क्षेत्रको चार किल्ला सिल समेत गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले पहिलो चरणमा बुधवार विहान ४ बजेदेखि भदौ २ गतेसम्म लागु हुने गरि निषेधाज्ञा जारी गरिएको जानकारी दिए । उनले अब जिल्लामा अत्याबश्यक सवारी साधन र पास लिएका सवारी साधान बाहेक अन्य सवारी साधन गुडन नपाउने बताए । बजार तथा पसल कुनैपनि सञ्चालन गर्न नपाइने स्थानीय प्रशासनले जानकारी दिएको छ ।
बढी संक्रमित देखिएका जिल्लाको चार किल्ला सिल समेत गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका स्वास्थ्य सेवा कार्यालय सल्लेदेखि खलंगा बजार हुँदै सितल पोखरी चोकसम्म र पिपलनेटादेखि शेरीगाउँ हुँदै मुसिकोट नगरपालिका वडा नं. ६ को वडा कार्यालय सम्मको चार किल्ला सिल गरिएको छ ।

