हिन्दू धर्मावलम्बीहरुले आत्माको शुद्धिकरण र शरीरको रक्षार्थ ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धनको धागो बाँधि प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा भोली मनाउँदैछन ।पुरोहित ब्राम्हणद्वारा त्यसरी रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ ।
रक्षाबन्धन धागो पुरुषहरुको दायाँ र महिलाहरुको बायाँ नाडीमा बाँध्ने गरिन्छ । जनै पूर्णिमाका दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।
जनै लगाउँनुको शाष्त्रिय महत्व र वैज्ञानिक कारण
यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको भेषभूसा हो ।यसामा तीन दण्ड अर्थात् तीन डोरा, नौ सूक्ष्म तन्तु र पांच शिखा वा गांठा हुन्छन् जसलाई पञ्चशिखा भनिन्छ । एउटा जनैमा तीन धागा – डोरा वा सूत्र हुन्छन् । हामी कहां तीन संख्याको ठूलो महत्व छ ।
ब्रह्मा, विष्णु र महेश्वर, सत्व, रज र तम तीनगुण, पृथ्वी अन्तरिक्ष र पाताललोक गरी तीन लोक, अतः जनैमा तीन डोरा हुनु सुसंगत छ ।
जनैका तीन दण्ड (डोरा, सूत्र) ले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छन् मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ ।
तीन दण्ड सूत्रको एक अर्को पनि रहस्य छ त्यो यो हो कि कार्यदण्ड, वाग्दण्ड र मनोदण्ड अर्थात् शरीर, वाणी र मनलाई संयममा राख्नु । कार्यसंयमद्वारा ब्रहृमचर्य पालन, गुरूजनहरूको आदर सत्कार, अहिंसा र तप आदि । वाणी संयमद्वारा सत्य, हितकारी र मधुर भाषण र स्वाध्याय गर्नु । मन संयमद्वारा मनका विकारहरू दूर गरी त्यसलाई शुद्ध र पवित्र संकल्पले मुक्त बनाउनु एवं सार्थक चिन्तन गर्नु ।
जनैधारीका लागि शरीर, वाणी र मनको यो संयम अत्यावश्यक छ ।
शरीरमा ‘वात’ ‘पित्त’ र ‘कफ’ धातुहरू पनि तीन नै छन् । यिनलाई सम राख्नु पर्छ, समराख्नु स्वास्थ्य हो विषम राख्नु रोगी हुनु हो । शरीर पनि ‘स्थूल’ ‘सूक्ष्म’ र‘कारण’ तीन नै छन् । दुःख वा ताप पनि तीन प्रकारकै छन् ‘आध्यात्मिक’, ‘आधिदैविक’ र ‘आधिभौतिक’ । यी तीन दुःखबाट निवृत्ति हुनु पर्दछ । यिनबाट निवृत्तिको नाम नै परमपुरूषार्थ अथवा मोक्ष हो ।
जनैका तीन सूत्रले एक अर्को पनि संकेत दिई रहेका छन् त्यो यो हो कि संसारमा तीन प्रकारका ऐश्वर्य छन् ‘सत्य’, ‘यश’ र ‘श्री’ जनैधारी मनुष्यले यी तीन मध्येबाट कुनै एकलाई छान्नु पर्दछ ।
त्यसैगरि जनैका तीन सूत्रले परमात्मा, जीवात्मा र प्रकृति यी तीन अनादि सत्ताको सम्यक ज्ञान प्राप्त गर्ने संकेत पनि दिन्छन् । यसर्थ जनै धारण गरेका व्यक्तिले परमात्मा के हो त्यसको स्वरूप कस्तो छ त्यसको प्राप्ति कसरी हुन सक्दछ इत्यादि कुराहरूलाई जान्ने प्रयत्न गर्नु पर्दछ ।
यसैगरी म को हुँ, कहाँबाट आएको हुँ, मलाई कहाँ जानु छ र मेरो जीवनको लक्ष्य के हो रु इत्यादि आत्मज्ञान सम्बन्धि समस्याहरू सुल्झाउन निरन्तर प्रयत्नशील रहने संकेत पनि यसवाट मिल्दछ ।
त्यसैगरि, जनैका तीन डोरा ब्रहृमग्रन्थि अथवा शिखाद्वारा परस्पर बांधिएका हुन्छन् । यसले के बोध गराउंदछ भने मनुष्यका लागि ज्ञान, कर्म र उपासना यी तीन साधन ईश्वरत्व प्राप्तिका आधारहरु हुन् ।
जनै धारण गरेर मनुष्य कामना गर्दछ कि म ज्ञान, कर्म र उपासनाद्वारा ईश्वरत्व प्राप्त गर्न सकुं, म जागृत, स्वप्न र सुषुप्ति अवस्थालाई पार गरेर तुरीय अवस्थामा व्रहृमसंग मेल गर्न सकुं र जीवनको उद्देश्य पूरा गरुं ।
जनै र ‘गायत्रीमन्त्रको परस्पर घनिष्ट सम्बन्ध छ । यससंगै परमेश्वर परमाणुको सर्वश्रेष्ठ नाम ‘ओम्’ मा अक्षर पनि तीन छन् अ, उ र म् । महाव्याहुति पनि तीन नै छन् ‘भूः भुवः स्वः’ र गायत्री मन्त्रमा पाद पनि तीन नै छन् ‘तत्सवितुर्वरेण्यम्’ ‘भर्गो देवस्य धीमहि’ ‘धियो यो नः प्रचोदयात’ । वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउँदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ ।
के के कारणले जनै लगाउनाले मानिसको स्वास्थ्यलाई सकरात्मक प्रभाव पार्छ त ?
– यसले हृदय रोगको सम्भावनालाई कम गर्छ ।
– चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ ।
– पिसाब फेर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बायाँ काँधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ ।
– निन्द्रामा भुत प्रेत आदिबाट हुने ऐठन आदिको भयबाट पनि मुक्ति मिल्छ ।
– काँधमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिन्छ ।
– यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ ।
– यो रेखा दायाँ काँधबाट कम्मरसम्म फैलिएको हुन्छ, त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ ।
जसको कारण काम क्रोधमा नियन्त्रण राख्न सजिलो हुने विश्वास गरिन्छ । जनैमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन् । जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो, यो सृष्टिकर्तासँगै जन्मिएको हुँदा यसको धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुन्छ ।
अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरुको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरु नदोहोर्याई सत्मार्गमा अभिप्रेरित हुन यस दिन विहान नदी वा तीर्थतटमा सम्मिलित भई वैदिक विधि अनुसार स्नान, सूर्य आराधना आदि कामद्वारा शारीरिक, मानसिक एवं आध्यात्मिक शुद्धिका कर्महरु गरिन्छ । रक्षा बन्धन, जनैपूणिर्मा वा ऋषितर्पणी पर्व मनाउने सबैमा हार्दिक शुभकामना ! सद्भाव र सहिष्णुताको धागो कहिल्यै नचुडियोस्।
युवा ज्योतिषी तथा वास्तुशास्त्री – मुस्कान खनाल
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
कुण्डली भाग्य
घोराही, दाङ ।
सम्पर्क नम्बर : ९८५११९३९६४, ९८२२८५०