दाङ, वैशाख २९ । नेपालमा सोमवार थप १३ जनामा कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ६, रूपन्देही ६ र बर्दियामा १ जना गरी १३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रुपन्देहीको समरिमाई गाउँपालिका वडा नं. ७ र लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं. ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै कपिलवस्तुका यशोधरा गाउँपालिका वडा नं. ८ र बुद्धभुमी नगरपालिका वडा नं. ७ का १५, १९, २३, ३०, ३२ र ३८ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै बर्दियाको राजापुर ५ मा ११ बर्षीया बालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । यो संगै प्रदेस ५ मा कोरोना संक्रमितको संख्या ५३ जना पुगेको छ ।कपिलवस्तुमा २१, बाँकेमा २४, रुपन्देहीमा ७ र बर्दियामा १ जना संक्रमित भेटिएका छन् ।
यसअघि सोमवार ११ जना संक्रमित भेटिएका थिए। १० जना संक्रमित कपिलवस्तुमा र एक जना सप्तरीमा फेला परेका थिए । कपिलवस्तुमा संक्रमितहरू १८,१९,२४, ३०, ३१ वर्षका एक–एक पुरूष र २० वर्षका दुई तथा ३४ वर्षका दुई पुरूष थिए। त्यसैगरी एक जनाको भने उमेर खुलेको छैन । सप्तरीका १८ वर्षीय पुरूषमा संक्रमण देखिएको थियो।
योसँगै नेपालमा संक्रमित संख्या १३४ पुगेको छ। जसमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । त्यसमध्यका तीन जनामा भने पुनःसंक्रमण देखिएपछि पुनः अस्पतालमा उपचार गराइ रहेका छन् ।