
निशान भट्टराई,
घोराही , बैसाख १५ । दाङमा कोरोना भाइरसको सफल परीक्षण भएको छ । पहिलो पटक पिसीआर प्रविधिमार्फत गरिएको कोरोना भाइरसको परीक्षण रिपोर्ट सतप्रतिसत सफल देखिएको छ । यो संगै अव कोरोना परीक्षणको लागि भैरहवा वा काठमाडौं स्वाब परीक्षणको लागि पठाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले पहिलो पटक सोमवार आफैले परीक्षण गरेका स्वाबहरुको रिपोर्ट सार्वजनिक गर्दै त्यस्तो कुरा बताएका हुन ।
प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले पिसीआर मेसिनद्धारा गरिएको पहिलो परीक्षण सफल भएको बताइन । पहिलो पटक गरिएका सबै ११ जनाको रिपोर्ट नेगेटिभ आएको पनि उनले जानकारी दिइन । जिल्लामै गरिएको पहिलो परीक्षण रिपोर्ट आएपछि थप विश्वसनियताको लागि पुनः परीक्षण गर्न स्वाब भैरहवा पठाइएको थियो । दुबै ठाउँको नतिजा एउटै आएपछि बल्ल प्रतिष्ठानको रिपोर्ट सार्वजनिक गरिएको छ ।
प्रतिष्ठानमा नयाँ मेसिन ल्याइएको हुँदा सतप्रतिसत विश्वसनियताको पुनः परीक्षणको लागि भैरहवा पठाइएको भण्डारीले जानकारी दिइन । प्रतिष्ठानको रिपोर्ट आइतवार नै आइसकेको भएपनि त्यो सार्वजनिक नगरी पुनः क्रसचेकका लागि भैरहवा पठाइएको भण्डारीले बताइन । रिपोर्ट नेगेटिभ आएका ११ जना सबैलाई सोमवार नै डिस्चार्ज गरिएको छ । तर, प्रतिष्ठानमा सोमवार भर्ना भएका थप ६ जना विरामीको स्वाब संकलन गरिएको छ ।
त्यस्तै तुलसीपुरको वेलझुण्डीस्थित कोराना विशेष अस्पतालले पनि थप ४ जनाको स्वाव परीक्षणका लागि प्रतिष्ठानमा पठाएको छ । उनीहरु सबैको रिपोर्ट बेलुका सम्म आउने संभावना उपकुलपति भण्डारीले व्यक्त गरिन । यसअघि स्वाब परीक्षणको लागि दाङबाट काठमाडौं र भैरहवा पठाउनु पर्ने बाध्यता थियो । हालसम्म जिल्लामा एकसय जना जतिको स्वाबको परीक्षण भइसकेको छ ।