निशान भट्टराई,
घोराही, बैशाख १२ । फिजिसियन तथा मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर प्रल्हाद कार्की आएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा सुरु गरेका छन् । कार्की लामो समयसम्म बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा काम गरेका सिनियर डाक्टर हुन । उनी कार्डियोलोजी बिभागका प्रमुखदेखि अस्पताल निर्देशकको समेत जिम्मेवारी वहन गरिसकेका व्यक्ति हुन ।
कोरोनाको उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले दाङका लागि धरानबाट राप्ती स्वास्थ्य प्रतिष्ठानमा पठाएपछि प्रा.डा. कार्कीले शुक्रवारदेखि सेवा दिन सुरु गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. सागर पन्थिले जानकारी दिए ।
पन्थिले कार्की जस्तो सक्षम चिकित्सक प्रतिष्ठानले पाउनु सबैको लागि खुसीको कुरा भएको बताए ।कार्कीले इमरजेन्सीको राउण्ड लिनुका साथै ओपिडिमा बसेर विरामी जाँचपनि सुरु गरेको पन्थिले जानकारी दिए । अस्पतालमा फिजिसियन आएपछि अब बिरामीले हालसम्म नपाएका सेवापनि पाउने पन्थिले आशा व्यक्त गरे ।
निर्देशक पन्थिले तुलसीपुर निवासी वालरोग विशेषज्ञ डा. किशोर खत्रीपनि प्रतिष्ठानमा आवद्ध भइसकेको जानकारी दिए ।अबदेखि खत्री प्रतिष्ठानमा भिजिटिङ कन्सलटेन्टकारुपमा सेवा दिन जाने छन् । अव प्रतिष्ठानमा वालवालिकाको उपचार थप प्रभावकारी हुने उनले आशा व्यक्त गरे ।