शंकर केसी,
सल्यान, बैशाख ९ ।युएईबाट आएका सल्यानका एक युवामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । सोमबार शारदा नगरपालिकाको वडा नं १ श्रीनगरमा परीक्षण गरिएका ३२ वर्षिय ति युवाको रिपोर्ट अनुसार कोरोना एन्टीबडी पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले बताए ।
चैबाङजिउलाका ती युवा गत चैत ६ गते युएइबाट घर आएका थिए । उनलाइ अहिले जिल्ला अस्पताल सल्यानको आइसुलेसनमा राखिएको छ । तर उनको परिवारका सदस्यहरुलाई र्यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । जिल्लाका सबै स्थानीय तहका भारत तथा तेस्रो मुलुकाबाट आएकाहरुको र्यापिड टेष्ट गर्ने क्रममा सोमबार ती युवाको पनि टेष्ट गरिएको थियो ।
जसमा उनको रिपोर्ट पोजेटिभ आएको हो । सल्यानमा यस अघि र्यापिड टेष्ट गरिएका सबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको थियो । सोमवार मात्रै बागचौर नगरपालिकामा ७६ जना र शारदा नगरपालिकामा ७९ जनाको आरडिटी परिक्षण गरिएको छ । ती मध्ये एक जना बाहेक बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
एन्टीबडी पोजेटिभ आएका युवाको मंगलबार स्वाव संकलन गरेर कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित प्रयोगशालामा पठाइने स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । किटबाट गरिएको परीक्षणमा शङ्का लागेमा प्रयोगशालामा पिसीआर टेस्ट गराउने व्यवस्था छ । पिसीआर टेस्टलाई मात्र कोरोना पत्ता लगाउने आधिकारिक जाँच मानिएको छ ।