काठमाडौं, वैशाख ४। नेपाल वायु सेवा निगमका दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन्।
स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडान भरेका हुन्।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका हुन्। दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउन लागेको बताइएको छ।
दुवै जहाज शुक्रबार काठमाडौं फर्कने निगमले जनाएको छ। निगमको जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।
लकडाउनको अवधिमा निगमका अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन्। यस अवधिमा निगमले सात अन्तर्राष्ट्रिय उडान भरेको छ।
यीमध्ये आजको उडानसहित चार कार्गो र तीन उद्धार उडान हुन्। वाइडबडी ए–३३० दुई र न्यारोबडी ए—३२० दुई थान जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। रासस