तुलसीपुर, चैत ३० । घोराहीका युवा बैज्ञानिक मार्सल रोकाले सेनिटाइजर छर्किने स्वचालित मेसिन निर्माण गरेका छन् । उक्त उपकरण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा जडान गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमबाट जोगाउन प्रतिष्ठानको गेटमा अटोमेटिक रुपमा मानव शरिरमा सेनिटाइजर स्प्रे गर्ने उपकरण जडान गरिएको हो ।
घोराही उपमहानगरपालिका वडा नं. १५ तुलसीपुर चोक निवासी २७ बर्षीय ‘युवा बैज्ञानिक’ भनेर परिचित रोका लगाएत दश जना युवाहरु मिलेर यो उपकरण निर्माण गरेका हुन । उक्त मेसिन उनीहरुले प्रतिष्ठानलाई निशुल्क रुपमा उपलब्ध गराएको जानकारी दिएका छन् ।
प्रतिष्ठानको गेटमा सेनिटाइजर टनेल जडान गर्नु पूर्व त्यसको चेकजाँच प्रतिष्ठानका चिकित्सक र प्राविधिक टोलिले गरेका थिए। झन्डै डेढलाख मुल्य पर्ने सेनिटाईजर टनेल आफुहरुले मानविय सेवाको दृष्टिले निशुल्क प्रतिष्ठानलाई उपलब्ध गराएको रोकाले जानकारी दिए । रोकाले स्थापना गरेको संस्था मेल्टा टेक्नोलोजीमा आवद्ध युवाहरुले यो उपकरण निर्माण गरेको जानकारी दिएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा जडान गरिएको सेनिटाईजर टनेलले कम दवाई बाट धेरै मानिसलाई स्प्रे मार्फत सेनिटाईज गर्ने काम गर्न सक्ने खाले रहेको रोकाले बताए । उक्त उपकरणले मान्छे आउना साथ आफैं ‘सेन्सर’ले थाहाँ पाएर स्प्रे गर्न सुरु गर्छ । स्प्रे गरेपछि त्यो पाँच सेकेन्डमै आफै वन्द हुने विषेशता बोकेको रोकाले जानकारी दिए ।