तुलसीपुर, चैत २७ । दाङ तुलसीपुरको विजौरीस्थित कोरोना विशेष अस्पतालबाट पठाइएका २० जना मध्य ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अब थप १२ जनाको रिपोर्टको प्रतिक्षा भइरहेको छ । विहीवार रिपोर्ट नेगेटिभ आउने मध्य दाङ जिल्लाका सात जना र प्यूठान जिल्लाका एक गरि आठ युवाको रिपोर्ट विहीवार नेगेटिभ आएको हो ।
रिपोर्ट नेगेटिभ आएका मध्य गौरीफन्टा नाकावाट आएका दाङ घोराहीका तीन युवा र प्यूठान जिल्लाका अर्का एक युवा रहेका छन् । त्यसैगरी रुपैडीहा नाकावाट आएका दाङ घोराहीका अर्का एक युवा र दुबैवाट आएका तुलसीपुरका तीन युवाको रिपोर्टपनि नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएका आठै जनालाई विहीवार नै डिस्चार्ज गरिएको छ ।
कैलालीका कोरोना संक्रमित युवासंगै गौरीफन्टा नाकावाट आएका मध्य अब दाङका पाँच जना र प्यूठानका दुई जनाको रिपोर्ट आउन बाँकी रहेको छ । उनीहरु सबैलाई विजौरीस्थित कोरोना विषेश अस्पतालमा राखिएको छ ।
विजौरीस्थित अस्पतालबाट मंगलवार राति एकै साथ २० जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको थियो ।
त्यसमा दुबैबाट आएका दाङ तुलसीपुरका चार जना, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत एक कार्यालय सहयोगी, भारतको रुपैडिया नाकाबाट आएका घोराहीका एकजना र दुबैबाट आएका प्यूठानका थप जना थिए ।
संक्रमित युवासँगै आएका भनिएका दाङका दश मध्य आठ जना मात्रै हालसम्म फेला परेका छन् । अन्य दुई जना अझैं पत्ता लागि सकेका छैनन् ।
प्रदेश नं. ५ को भैरहवामा आइतबारदेखि नै कोरोनाको स्वाब परीक्षण सुरु भइसकेको छ । तैपनि दाङबाट २० जनाको स्वाब परीक्षणको लागि एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको थियो ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले छिटो परीनाम पाउने अपेक्षाका साथ स्वाब परीक्षण गर्न काठमाडौं पठाउने सल्लाह बमोजिम भैरहवा नपठाइएको जानकारी दिएका थिए ।